एक शिक्षकको भरमा विद्यालय

प्रकाशित मिति: १० मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
बैतडी, १० मंसिर । आर्थिक अभावमा बैतडीको रौलेश्वर गाविसमा रहेको १ प्राथमिक विद्यालय १ जना शिक्षकको भरमा मात्रै सञ्चालन भइरहेको छ ।

०५० सालमा स्थापना भएको रौलेश्वर–८ मा रहेको रौलेश्वर घट्टेपात्थर प्राथमिक विद्यालयमा एकजनाको दरबन्दी रहेको भए पनि आर्थिक अभावमा निजी स्रोतबाट थप शिक्षक राख्न नसकिएको प्रधानाध्यापक कर्णबहादुर मडैले जानकारी दिए ।  ‘विद्यालयसँग आर्थिक स्रोत छैन,’ उनले भन,े ‘निजीस्रोतबाट राखेको १ जना शिक्षकलाई समेत आर्थिक अभावमा तलब भत्ता खुवाउन सकिएको छैन ।’ कक्षा ५ सम्मको पढाइ हुने सो विद्यालयमा १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयमा शिक्षकको अभाव हुँदा विद्यार्थीको पढाइ कमजोर बन्दै गएको स्थानीय अभिभावक धर्मसिंह मडैले जानकारी दिए ।
भौगोलिक हिसाबले पनि विकट क्षेत्रमा रहेको विद्यालयमा २ जना शिक्षकले ५ वटा कक्षा सञ्चालन गर्नु परिरहेको र कुनै शिक्षक अनुपस्थित भएमा एक जनाले कक्षा ५ कक्षासम्म अध्यापन गर्नुपर्ने बाध्यता रहिआएको रौलेश्वर पूर्वविद्यार्थी समाजका अध्यक्ष रीजन मडैले बताए ।

शिक्षा ऐन २०२८ को आठौँं संशोधनअनुसार नयाँ ऐन आइसकेको र नियमावली आउन लागेकोले रिक्त दरबन्दी भए दरबन्दी मिलान गर्न सकिने तर थप दरबन्दी भने तत्काल दिन नसकिने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट