धुर्मुस -सुन्तली नमुना बस्ती हस्तान्तरण कार्य कागतिहारमा

प्रकाशित मिति: १० कार्तिक २०७३, बुधबार

मेलम्ची, १० कात्तिक । काभ्रेको पहरी गाउँमा २० एकीकृत बस्ती निर्माणबाट प्रेरणा पाएका कलाकार जोडी सीताराम कट्टेल र कु्ञ्जना घिमिरेले सिन्धुपाल्चोकको गिरानचौरमा दोस्रो चरणको नमुना बस्ती निर्माण कार्य सम्पम्न गरी शुक्रबार सम्बन्धित भूकम्प पीडितलाई घर हस्तान्तरण गरिँदै छ ।

एकीकृत नमुना बस्ती विस्तारबाट देश विकास हुने भएकाले क्लिन सिटी र ग्रिन सिटीको अवधारणा सहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री सहितको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको थियो ।

आर्थिक अवस्था कमजोर भएका समुदायको पहिचान गरी तामाङ समुदायलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी मेलम्ची नगरपालिका–८ स्थित विपन्न वर्गको चयन गरेर ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदान सहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

पैँसठ्ठी घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयंसेवक गरी सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरिएको हो । हेलम्बु राजमार्ग अन्तर्गतको सिन्धुखोलाबाट करिब छ किमी उकालो लागेपछि उक्त बस्तीमा पुग्न सकिन्छ ।

नमुना बस्तीमा खानेपानीका लागि निकै समस्या भएकाले एकीकृत बस्तीसहित सिङ्गो गिरानचौरवासीलाई फाइदा पुग्ने गरी करिब आठ सय मि गहिराइमा रहेको सिन्धुखोलाबाट पानी ल्याउने समेत व्यवस्था मिलाइएको छ । एकीकृत नमुना बस्ती निर्माण सरकारलाई सघाउने अभियान भएको कलाकार कट्टेलले बताए ।

विभिन्न डाँडाकाँडामा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माणमा जुट्ने हो भने देश विकासका लागि धेरै समय नलाग्ने कट्टेलको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट