पालाको माग र मूल्य बढ्यो, कुमालेलाई भ्याइनभ्याई

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

भक्तपुर, ९ कात्तिक । भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई दोस्रो महान् चाड तिहार नजिकिएपछि  यतिखेर भ्याइनभ्याई छ ।

मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो ।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरालगायतको माग बढ्ने र अरु बेलामा माटोको भाँडाको माग कम हुनथालेपछि यो पेसामा सम्लग्न कुमाले विस्थापित हुँदै गएकाले उत्पादनमा समेत कमी आएकोे छ ।

यसवर्ष पाला बनाउने प्रजापतिको सङ्ख्या घटेपछि पेसा अङ्गाल्दै आएकाहरुलाई भने पाला बनाउन भ्याइनभ्याई भएको हो । तिहार नजिकिँदै गएको र मागअनुसारको पाला, धपौरो दही राख्ने ठेकी बनाउन पनि भ्याइनभ्याई भएको भक्तपुर नगरपालिका–१२ पोटरीस्क्वायरका राजेश प्रजापतिले बताए ।

पाला बनाउँदै आएका न्हुछेकुमार प्रजापतिले परिवारमा नौजना भए पनि अन्य पेसामा लागेकाले आफू एक्लैले यो पेसालाई निरन्तरता दिएको बताए । पालाको माग बढे पनि माटोको अभाव र काम गर्ने मान्छे नहुँदा मागअनुसारको उत्पादन हुन नसकेको बताउँदै उनले यसवर्ष माग र मूल्य दुवै बढेको बताए ।

विगत ४० वर्षदेखि माटोका भाँडा बनाउँदै आएका बुद्धिराम प्रजापतिले यो पेसाबाट वर्षभरि गुजारा चलाउन नसक्ने र माटो पनि नजिक नपाइएपछि टाढाबाट किनेर ल्याउनुपरेकाले यो व्यवसाय नै सङ्कटमा परेको बताउछन् ।

तिहारका लागि माटोको पाला बनाएर बिक्री गर्दै आएका स्थानीयवासी सुजन प्रजापतिले भूकम्पले पनि यो पेसालाई विस्थापित गरेको बताए । भक्तपुरमा यसवर्ष होलसेलमा एउटा पालाको एक रुपैयाँ ५० पैसा र खुद्रा मूल्य रु दुईमा बिक्री भइरहेको बताए । भक्तपुर र थिमिमा उत्पादन भएको पाला, काठमाडौँ, पोखरा, नुवाकोट, नेपालगन्ज, भैरहवा, काभ्रे, जिरी, दोलखालगायतका जिल्लामा खपत हुने गरेको छ ।

गतवर्षको तिहारमा एउटा पालाको ७५ पैसादेखि एक रुपैयाँसम्ममा बिक्री गरे पनि यसवर्ष भने यसको मूल्य बढेको उनीहरु बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट