यासेलीको गीति पुस्तक

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ९ कात्तिक । वरिष्ठ गीतकार तथा कलाकार यासेली योङहाङको गीति पुस्तक बजारमा आएको छ । तीनदशकअघिदेखि किताब निकाल्ने सोच राखेका उनले यसवर्ष मात्र आफ्नो सपना पूरा गरेको बताए । ‘प्रसव पीडा साह्रै गाह्रो रहेछ’ आफ्नो गीति पुस्तक सार्वजनिक कार्यक्रममा उनले भने, ‘तीनदशकअघि नै गीति पुस्तक निकाल्ने सोच बनाएको थिए तर, बल्ल अहिले ल्याएँ ।’

लिम्बू कला तथा भाषाविद्समेत रहेका यासेलीको ‘यासेली योङहाङका लिम्बू गीतहरु’ नामक गीति पुस्तकको राजधानीमा आयोजित एक कार्यक्रम सार्वजनिक भयो । वरिष्ठ कवि बैरागी काइँला, डा.नारायणप्रसाद संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बालगायतले पुस्तक सामूहिक सार्वजनिक गरे ।

कार्यक्रममा कवि काइँलाले लोकार्पित गीति पुस्तकबारे बोल्दै भने, ‘यासेली योङहाङ आफैमा लिम्बू भाषाका गीतहरुको संग्रह हो । उहाँले आफ्नो संग्रहभित्रका केही गीत पुस्तकमा ल्याउनु भएको छ ।’

त्यस्तै गीतकार तथा कलाकार यासेलीले आफ्नो गीतिकारिताबारे स्पष्ट पारे । यासेली करिब तीन दशकयता लिम्बू भाषा, लिपी, संस्कृति र मुन्धुमको खोज तथा अनुसन्धानमा लाग्दै आएका छन् । यससँगै गीति लेखन र कलाकारितामा समेत सक्रिय यासेली लिम्बू भाषामा सबैभन्दा धेरै गीत लेख्ने गीतकारमा पर्छन् । उनको ‘यासेली योङहाङका लिम्बू गीतहरु’मा जम्मा ६२ वटा गीत छन् । तीमध्ये अधिकांश रेर्कड भइसकेका गीत रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट