श्रमजीवि ऐन कार्यान्वयन गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

काठमाडौं, ८ कात्तिक । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले श्रमजीवि पत्रकार ऐन पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रेस सेन्टर नेपाल ३ नम्बर प्रदेशको आज ज्ञापनपत्र बुझ्दै मन्त्री कार्कीले प्रेस सेन्टरले राखेका मागप्रति आफू सकारात्मक रहेको भन्दै त्यसलाई छिटै कार्यान्वयनमा लैजाने बताए । मन्त्री कार्कीले आफूले चाँडै सरोकारवाला निकायलाई बोलाएर छलफल अगाडि बढाउनेसमेत प्रतिबद्धता जनाएको ३ नम्बर प्रदेशका सचिव टेनिस रोकाले जानकारी दिए ।

सो अवसरमा सञ्चारमन्त्री कार्कीले अब चाँडै पत्रकार महासंघ, प्रेस काउन्सिल, सूचना विभागलगायत निकायसँग छलफल गरेर यो काम अघि बढाउने बताए । ज्ञापनपत्र बुझाउँदै प्रेस सेन्टरले र अघिल्लो सरकारको समयमा मन्त्रीस्तरीय निर्णयबाट ल्याइएको लोककल्याणकारी विज्ञापन नीति कार्यान्वयनका लागि अगाडि बढाउन माग गरिएको थियो ।

सो अवसरमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नहुँदा श्रमजीवि पत्रकार अन्यायमा परेको तथा कतिपय अवस्थामा उनीहरुको श्रम शोषणसमेत भइरहेको भन्दै ऐनको पूर्ण कार्यान्वयन र समानुपातिक विज्ञापन नीति अवलम्बनका लागि ध्यानाकर्षण गराइएको थियो ।

ज्ञापनपत्रमा अनलाइन मिडियालाई व्यवस्थित बनाउन माग गर्दै अनलाइन मिडियाका लागि पनि समानुपातिक विज्ञापन नीति ल्याउनुपर्ने समेत उल्लेख गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट