मध्यवर्ती क्षेत्रलाई अहिलेसम्मकै उच्च रकम निकासा

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

चितवन, ८ कात्तिक । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा भित्रने पर्यटकको सङ्ख्या  घटेसँगै राजस्वमा गिरावट आए पनि मध्यवर्ती क्षेत्र व्यवस्थापनमा निकासा हुने बजेटमा भने अहिलेसम्मकै उच्च रकम निकासा हुने भएको छ ।

जनता र वन्यजन्तुको बीचको सम्बन्ध अरु सुधार गर्दै जान सहयोग पुग्ने र शून्य चोरी सिकारमा योगदान पु¥याएको भन्दै वनमन्त्री शङ्कर भण्डारीले विगतका वर्षमा निकासा हुन नसकेको रकम समेत पठाउन निर्देशन दिएसँगै थप रकम निकासा हुने भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिलाई चालु आवका लागि रु १० करोड पाँच लाख बजेट निकासा भएको निकुञ्ज विभागले जनाएको छ । विभागका योजना प्रमुख अमिर महर्जनका अनुसार मन्त्रालयमा बजेट पठाई सकिएको छ । गत आवमा चितवन राष्ट्रिय निकुञ्जबाट रु ११ करोड ६८ लाख ५३ हजार ७१० राजस्व उठेको थियो ।

निकुञ्जको ऐनमा कुल राजस्वको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा संरक्षण र विकास निर्माणमा खर्च गर्न सक्ने प्रावधान छ । जसअनुसार मध्यवर्ती क्षेत्रले अधिकतम रु पाँच करोड ८४ लाख २६ हजार ८५५ पाउने भए पनि अघिल्ला वर्षमा थोरै निकासा भएकाले बाँकी रकम यस आवमा पठाइएको महर्जनले बताए । अघिल्लो आव २०७१÷०७२ मा रु २४ करोड ६५ लाख २८ हजार ६०० राजस्व सङ्कलन भएकोमा रु सात करोड ४१ लाख ६० हजार र आव ०७०÷०७१ मा रु २४ करोड ६९ लाख १३ हजार राजस्व उठेकोमा रु १० करोड मध्यवर्तीमा बजेट विनियोजन भएको थियो ।

थप बजेटको माग गर्दै वनमन्त्री भण्डारी कहाँ नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको नेतृत्वमा पुगेको टोलीलाई उनले शून्य चोरी सिकारमा मध्यवर्तीका बासिन्दाले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै खर्च भएमा थप रकम समेत पठाउने आश्वासन दिए । वन सचिव कृष्णचन्द्र पौडेलले वन र वन्यजन्तुको संरक्षणमा मध्यवर्तीका बासिन्दाको महत्वपूर्ण योगदान रहेको भन्दै विगतका वर्षमा ५० प्रतिशतभन्दा कम निकासा भएको सबै रकम पठाउने कुरामा मन्त्रालय सकारात्मक रहेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सो रकमबाट मध्यवर्ती क्षेत्रमा संरक्षण, विकास निर्माण, सीप विकास, रोजगारी, जनचेतना, संरक्षण शिक्षालगायतमा खर्च गरिने बताए ।

मध्यवर्ती क्षेत्रमा २२ वटा उपभोक्ता समिति रहेका छन् । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका ६० हजार घरधुरीका तीन लाख जनसङ्ख्या मध्यवर्ती क्षेत्रमा बसोबास गर्दछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट