जाडोयाममा तातोपानी कुण्डमा नुहाउन आउनेको भीड सुरु

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

लमजुङ, ८ कात्तिक । जिल्लाको उत्तरी भेगमा पर्ने बाहुनडाँडा गाविस–४ मा रहेको तातोपानी कुण्डमा प्राय जाडोको सिजनमा नुहाउन आउनेको भीड लाग्ने गर्छ । कात्तिकबाट फागुनको अन्तिम सातासम्म तातेपानीमा नुहाउने सिजन सुरु भएपछि विभिन्न ठाउँबाट मानिस नुहाउन आउने गरेका छन् ।

जाडोयाममा तातोपानीमा नुहाउनुको आनन्द त छदैछ, तातोपानीमा नुहाउनाले दाद, घाउ, खटिरा, चाया, डन्डिफोर जस्ता छालासम्बन्धी रोग, बाथ, हाडजोर्नी, नशासम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास रहेको छ । एक पटक मात्र नुहाएर निको नहुने भन्दै हप्ता दिनसम्म पनि निरन्तर तातोपानी नुहाउन मानिस आउने गरेका छन् । हप्ता दिनभन्दा पनि धेरै नुहाएमा नशा, छालालगायतका शरीरका रोग निको हुने विश्वास रहेको त्यहाँ नुहाउन जानेको भनाइ छ ।

स्वास्थ्यको लागि लाभदायक तातोपानी धार्मिक रुपमा पनि महत्वपूर्ण भएको मानिन्छ । प्राकिृतक र धार्मिक रहस्यको तत्काल खोजी गरी वास्तविकतालाई प्रचारप्रसार गर्नसके ठुलो सङख्यामा धार्मिक पर्यटक आउने स्थानीय बताउँछन् ।

“चिसो मस्र्याङ्दी नदीको छेवैमा छुन नसकिने तातोपानीको मूल हुनु दैविक शक्तिको प्रभाव हुन सक्छ, धार्मिक आस्था राख्ने बर्सेनि नुहाउन आउछन्” स्थानीय शिक्षक लोकनाथ घिमिरेले भने ।

पछिल्लो समय लमजुङबाट मनाङसम्म सवारी सञ्चालन भएपछि मनाङबाट झर्ने पनि तातोपानीमा नुहाउने गरेको स्थानीयले बताएका छन् ।सदरमुकाम बेँसीसहरबाट खुदी हुँदै गाडीमा दुई घन्टामा तातोपानी पुग्न सकिन्छ । पहराको फेदमा जमिनमुनिबाट उमालेको पानी जस्तै गरी मूल फुटेको पानी निकै तातो छ । सो तातोपानीको मूलमा अन्डा वा आलु समेत उसिन्न सकिने स्थानीयवासी बताउँछन् ।

जाडोयाम सुरु भएलगत्तै नुहाउनको लागि मानिसको भीडभाड हुने यस तातोपानीको कुण्डको उचित व्यवस्थापन र थप प्रचारप्रसार गर्नसके अझ धेरै पर्यटक आउन सक्ने उत्तरी लमजुङ पर्यटन विकास समितिका अध्यक्ष नरबहादुर गुरुङ बताउछन ।

विश्व प्रसिद्ध अन्नपूर्ण पैदलमार्गमा पर्ने यस प्रकृतिक र धार्मिक सम्पदाको प्रभावकारी संरक्षण र प्रवद्र्धन गर्नसके यसले उल्लेख्य आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षण गर्ने सरोकारवालाले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट