झापाको दमकमा चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

झापा, ८ कात्तिक । झापाको दमकमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण  ६० जना भन्दा बढी बिरामी बनेका छन् ।

डेङ्गु रोगका कारण आइतबार सम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको छ । मेसु शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ । त्यस्तै नेकपा (एमाले)का दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् ।

डेङ्गु रोगले महामारीको रुप लिएपछि साँझको समयमा दमकमा चहलपहल समेत कम हुँदै गएको छ । खासगरी डेङ्गु सार्ने लामखुट्टे साँझमा सक्रिय हुने भएकाले चहलपहल हुन छाडेको पत्रकार विष्णु पोखरेलले बताए ।

दमकमा सबैभन्दा बढी दमकको एडभान्स हेल्थ केयरमा डेङ्गुका बिरामी फेला परेको बताइएको छ । एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेङ्गुका बिरामी फेला परेका छन् । त्यस्तै अन्य अस्पतालमा पनि डेङ्गु रोगी भेटिएको बताइएको छ ।

यसैबीच डेङ्गु रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले झापामा डा यदुचन्द्र घिमिरे र ल्याब टेक्निसियन डवलबहादुर विसीको टोली पठाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले निःशुल्क रुपमा डेङ्गु परीक्षणका लागि दमक अस्पताललाई केन्द्र तोकेको छ ।

यहाँ सरकारले तोकेको कीटमा डेङ्गु परीक्षण हुने गरेको छ । बिहीबारदेखि निजी अस्पतालले समेत निःशुल्क रुपमा डेङ्गु रोगको परीक्षण गर्ने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट