बुद्ध विहार निर्माणमा प्रवासीको आर्थिक सहयोग

प्रकाशित मिति: ८ कार्तिक २०७३, सोमबार

बागलुङ, ८ कात्तिक । प्रवासमा बस्ने नेपालीहरुले जिल्लाको रिघा–१ मा निर्माणाधीन ‘उदय रिघा बुद्ध विहार’लाई  रु २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।

गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि सोम सापकोटाले विभिन्न ४७ मुलुकबाट सङ्कलित रु २३ लाख ८० हजार १२१ रुपैया बराबरको चेक विहारका अध्यक्ष शेरबहादुर घर्तीमगरलाई प्रदान गरे  ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग अभियान समितिका संयोजक समेत रहेका सापकोटाको पहलमा उक्त रकम सङ्कलन भएको हो । बुद्ध धर्म-दर्शनको प्रवद्र्धनका साथै पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वासले सहयोग जुटेको उनको भनाइ छ ।

बढीजसो रकम हङकङ, बेलायत, बेल्जियम, जर्मन, कतारलगायतका देशमा पुगेका बागलुङले र छिमेकी जिल्लाका प्रवासीले सहयोग गरेका छन् । विहार समितिले उक्त रकम विहारको भौतिक संरचना निर्माणमा खर्चने जनाएको छ ।

बौद्ध धर्मावलम्बीलगायत सबै समुदायको धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विहारलाई विकास गरिने समितिका अध्यक्ष घर्तीमगरले बताए । करिब रु दुई करोडको लागत योजना तयार गरेर विहार निर्माणको काम अघि बढेको उनको भनाइ छ ।

त्यसबाहेकका संरचना निर्माणमा थप खर्च हुने समितिले जनाएको छ । गुम्बा, चैत्य, आश्रम, पोखरी, बुद्ध मूर्ति, सडक, वनभोज स्थल, प्रवेशद्वारलगायतका संरचना र पूर्वाधार निर्माणको योजना बनाइएको छ । समितिले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर स्तुपा भने निर्माण गरिसकेको छ । गाविस, जिविस, पर्यटन मन्त्रालय, सहरी विकास मन्त्रालयबाट पनि सहायता लिएर स्तुपा निर्माण गरिएको हो

स्थानीय दाताले समेत स्तुपा निर्माणमा सहयोग गरेका छन् । बागलुङ सदरमुकामदेखि २० कोष पश्चिममा अवस्थित रिघा गाविसमा बन्न लागेको विहारले पर्यटनका साथै त्यहाँको आर्थिक, सामाजिक विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

विहार निर्माण गर्न मात्रै रु ३० लाख लाग्ने अनुमान गरिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट