देशभर १२ कात्तिकमा ‘उमंग’ रिलिज हुने

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ५ कात्तिक । सगरमाथा फिल्म्सको प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’ आगामी १२ कात्तिकमा देशभर रिलिज हुने भएको छ । नृत्यनिर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको चलचित्र यसअघि अस्ट्रेलियाको सिडनीमा प्रदर्शन गरिसकिएको छ ।

सबै दर्शकका लागि एउटा राम्रो नेपाली चलचित्र दिन लागिएको निर्देशक शर्माले जनाएका छन् । उनले भने ‘उमंगलाई हामीले एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिस गरेका छौँ ।’ पछिल्लोपटक बजारमा आएका चलचित्रमध्ये पृथक रहेको र नेपालभर प्रदशन भएपछि आमदर्शकको मन जित्नमा आफू ढुक्क रहेको उनको दाबी छ । उनले भने, ‘चलचित्रको नाम जस्तो छ, यसले दर्शकलार्ई पनि उस्तै उमंग थपिदिनेछ ।’

विगत २ दशकदेखि चलचित्र नृत्य निर्देशमा गर्दै आएका शिवले लामो समयदेखि चलचित्र क्षेत्रमा लागेर बटुलेको लामो अनुभवका कारण चलचित्र निर्माणमा प्रेरित भएर नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटरे उमंग बनाएको बताए ।
उमंगमा नायिका विनिता बरालको अभिनय रहेको छ । उनले यो चलचित्रमा बोल्ड अभिनय दिएकी छन् । चपली हाइटबाट उदाएकी विनिताले यो बीचमा अरू चलचित्रमा अभिनय गरे पनि खासै चर्चा कमाउन सकेकी छैनन् । चलचित्रमा विनितासँगै नवनायक तथा निर्माता कुमार जिसीको पनि अभिनय रहेको छ । यो चलचित्रबाट नै जिसीले आफूलाई चलचित्र क्षेत्रमा स्थापित हुने जमर्कोसमेत गरेका छन् ।

चलचित्रको ८० प्रतिशत छायांकन दुबई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ । चलचित्रमा बिनिता बराल र कुमार बिसीसँगै सिपी पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसीलगायत कलाकारको अभिनय रहेको छ । बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा अर्जुन पोख्रेल र बिबी अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायांकन रहेको छ ।

चलचित्रका अभिनेता कुमार बिसीले नै यो चलचित्रको कथा लेखेका हुन् ।आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई चलचित्रको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् । चलचित्रमा भारतीय गायक नाकाश अजिजको पाश्र्व गायन रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट