समुद्रमूनि नेपाली फिल्मको अवार्ड

प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ५ कात्तिक । थाइल्यान्डको पर्यटकीय नगरी पत्तैयाको समुद्रमूनि विश्व चलचित्रको इतिहासमा पहिलोपटक ‘अन्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ सम्पन्न भएको छ । बक्स अफिस फिल्म क्लब नेपालको आयोजनामा उक्त दुर्लभ अवार्ड सम्पन्न भएको हो ।

विश्व रेकर्ड राख्ने उद्देश्यका साथ ७० हजार फिटमुनि अवार्ड आयोजना गरिएको थियो । १५ असोजमा भएको अवार्डमा भाग लिन नेपालबाट कलाकार, पत्रकार, हल व्यवसायी, निर्माता, निर्देशक तथा कलाकारहरूको टोली थाइल्यान्डका पुगेको थियो । विश्व बजारमा भइरहने विभिन्न अवार्डभन्दा भिन्न शैलीले पर्दा पछाडिका रहेका कलाकारहरूलाई सो अवार्ड प्रदान गरिएको छ । अक्सिजनको माध्यमबाट समुद्रमूनि आयोजना गरेको अवार्डमा ९ जना मात्र ७० हजार फिट मूनि पुग्न सफल भएका थिए भने अन्य कलाकारहरू जान नसकेको आयोजकले जनाएको छ ।

नेपालबाट गएका अधिकांश कलाकारहरूले माथिबाटै अवार्ड कार्यक्रम अवलोकन गरेका थिए । अवार्ड समारोहमा द्वन्द्व कलाकार नरेन्द्र केसीलाई अवार्ड प्रदान गरिएको छ । केसीलाई विगत २ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा नायकनायिकाको नक्कली द्वन्द्वको दृश्य दिँदै आएका छन् । यस्तै भद्रगोलका निर्माता एवं कलाकार सुबास कार्कीलाई हास्य विधामा अवार्ड, वर्षकै सफल चलचित्र ड्रिम्स निर्माता भूवन केसीलाई कुशल निर्माताको अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी पर्दा पछाडीबाट चलचित्र निर्माणको क्रममा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गर्ने प्राविधिक एवं निर्माण नियन्त्रक केशव घिमिरेलाई समुन्द्रमूनि प्राविधिक अवार्डबाट सम्मान गरियो । कलाकार सुन्दर श्रेष्ठले खलपात्रको अवार्ड प्रदान गरिएको अयोजक बक्स अफिस क्लबका अध्यक्ष आरके सुबेदीले बताए ।

‘अन्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ का अवसरमा सम्पूर्ण कलाकारहरूलाई थाइल्यान्डको राजधानी बैंककको पानीजहाजमा रात्रीभोज आयोजना गरिएको थियो । त्यसैगरी बैंककमै लामो समयदेखि बसोबास गर्दै आएका नेपाली बुद्धिजीवी र नेपालबाट गएका राष्ट्रिय कलाकारहरूको मैत्रीपूर्ण फुटबलसमेत आयोजना गरिएको थियो ।

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा राष्ट्रिय कलाकारको टिमले ४–१ गोल अन्तरले बैंकक बुद्धिजीवीलाई पराजित गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट