जुम्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने कारबाहीबाट रु दुई लाख ३७ हजार राजस्व

प्रकाशित मिति: ४ कार्तिक २०७३, बिहीबार

जुम्ला, ४ कात्तिक ।  कर्णाली राजमार्गअन्तर्गत जुम्ला भएर जाने र आउने सवारी साधनलाई ट्राफिक नियम उल्लङ्घन गर्ने  कारबाही गर्दा तीन महिनामा झन्डै रु दुई लाख ५० हजार बराबर राजस्व सङ्कलन गरिएको छ । आव २०७३/७४ को साउन, भदौ र असोज महिनामा ३११ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक गङ्गाराम विकले जानकारी दिए ।

साउनमा ६५ वटा गाडी कारबाहीमा परेका थिए, जसमा रु ३६ हजार ५००, भदौ महिनामा ८५ सवारी साधन कारबाहीबाट रु ५० हजार ५०० राजस्व जम्मा भएको प्रहरी सहायक निरीक्षक विकले बताए । असोज महिनामा भने १६१ सवारी साधन कारबाही परेको जसबाट रु एक लाख ५० हजार राजस्व जम्मा गरेको उनको भनाइ थियो ।  ।

उनका अनुसार कारबाहीमा पर्नेहरुमा बसको हुटमा चढ्नेहरु, क्षमताभन्दा बढी यात्रु राख्ने सवारी, रुट अनुमति नभएका, मापसे प्रयोग गरेर सञ्चालन गरिएका, नियम विपरीत चालक अनुमति नभएका, तीव्र गतिमा गुडाउने सबैखालका सवारी साधनलाई कारबाही गरिएको थियो ।

सवारी सञ्चालन र आवागमनका विषयमा बेवास्ता भएको र त्यससम्बन्धी नागरिकलाई अधिकतम जानकारी नभएकाले आगामी दिनमा ट्राफिक नियम र आवागमनका विषयमा स्कुल, सार्वजनिक स्थानमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट