कानुन मिच्दै रौतहटमा अवैध गुटखाको व्यापार

प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

३० असोज, गौर । सूर्तिजन्य पदार्थमा अनिवार्य गरिएको आन्तरिक राजश्व विभागको स्टीकर नभएका अवैध गुटखा व्यवसायीले बिक्री गरिरहँदा पनि प्रशासन मौन बनेको छ । कानुन मिच्दै रौतहटमा अवैध गुटखाको व्यापार निकै फस्टाएको छ ।

मदिराजन्य वा सूर्तिजन्य पदार्थमा नेपाल सरकारले नियमावली नै बनाएर राजश्व कर तोकेको छ । जसअनुसार गुटखाका प्रत्येक प्याकेटमा आन्तरिक राजश्व विभागको छाप भएको होलोग्राम स्टीकर अनिवार्य हुन्छ । तर, रौतहट सदरमुकाम गौरका गुटखा व्यवसायीले कानूनी नियम लत्याउँदै राजश्व छलि गरेका पान किंग गुटखा बिक्री वितरण गरिरहेका छन् ।

भारतीय क्षेत्रमा केही वर्ष अघि गुटखा कम्पनीहरुलाई त्यहाँको सरकारले कडाइ गरेपछि नेपाली शहरहरुमा गुटखाका थुप्रै कम्पनी खुलेका छन् । प्लास्टिकको प्याकेटमा गुटखा बेच्न नपाइने नियम भारतीय प्रशासनले लगाएपछि नेपाली बजारमा गुटखा कम्पनी फस्टाएका हुन् । केही वर्षयता मात्रै सञ्चालनमा आएका गुटखा कम्पनीले अहिले करोडौंको कारोबार गरिरहेका छन् ।

गौरमै पान किंग नामक गुटखाको होलसेल कारोबार गर्ने व्यवसायीले बजारमा आन्तरिक राजश्व विभागको स्टीकर नएभका गुटखा बेचिरहेका छन् । राजश्वको स्टीकर नभएका गुटखामा कुनै कर नलाग्ने र सस्तो पर्ने भएकाले त्यस्ता कर छली गरेका गुटखा मगाउँदै व्यावसायीले नै खुद्रा पसलेहरुलाई बेच्ने गरेका छन् । आन्तरिक राजश्व कार्यालय वा प्रशासनले यदि छापा हान्ने हो भने करोडौं मूल्यको अवैध गुटखा बरामद हुने स्रोत बताउँछ ।

लुम्बिनी पान मसाला उद्योग कपिलवस्तुले उत्पादन गरेको पान किंग गुटखा रौतहटका गौर, पिप्रा, शिवनगर, गरुडा, कटहरीया र चन्द्रनिगाहपुर लगायत अन्य ग्रामिण बजारहरुमा समेत बिक्री हुने गर्दछ । यसरी दैनिक लाखौंको राजश्व छलेका यी गुटखा सदरमुकाम गौरबाटै अन्य बजारहरुमा गइरहँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोष्टहरुले कहिल्यै समात्न सकेका छैनन् । साइकल, मोटरसाइकल र टेम्पु लगायत अन्य साना सवारी साधनमा ओसारीने अवैध गुटखालाई प्रहरीले देखे पनि नदेखे जस्तो गरेको स्थानीय बताउँछन् ।

नेपाली बजारमा भित्रिने यी गुटखाहरुको प्रमुख गन्तव्य भने भारतीय बजार हुने गर्दछ । नेपालमा उत्पादित पान किंग र भोला गुटखाहरुको भारतीय बजारमा माग बढी छ । गौरको मुख्य भन्सार नाका समेत महादेवपट्टी, बंकुल र अन्य नाकाहरुबाट पनि पान किंग र भोला गुटखा भारत पुगिरहेको छ ।

राजस्व छली गरेर अनुमती पत्र विना तथा नेपाल सरकारले तोकेको मापदण्ड विपरित बिक्री वितरण भइरहेका पान किंग र भोला गुटखाबारे जानकारी संकलन गरिरहेको र छिट्टै नै कारवाही अघि बढाउने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । कर छल्नु अपराध भएको र राजश्व छलेका गुटखा बजारमा भेटिए व्यवसायीलाई समेत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट