विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगे

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ ।

विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न (ब्लग) मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन सफारी प्रालिले पठाएका सिकारीहरु आरक्षमा सिकार खेलिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए। पहिलो सिकारयाममा चार वटा सिकार एजेन्सीले सिकारीहरु आरक्षमा पठाउनेछन् ।

अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् ।आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी छ ब्लगमा सिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन् ।

अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइँमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । विद्युतीय बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाबाट सिकार एजेन्सीले अनुमति पाउने गरेका छन् । यो याममा नाउर र झारल सिकारको रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म कायम गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वर्षमा २६ नाउर र १४ भारलको सिकार अनुमति दिने गरेको छ । सो सङ्ख्याका नाउर र झारललाई दुई याममा गरी बाँडेर सिकार खेल्न दिने गरिएको छ । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका आधारमा सिकारको कोटा र राजस्वको दर कायम हुने गरेको विभागले जनाएको छ ।

साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । लाखौँ रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारीहरु आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारको लागि खुल्ला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैसाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट