मुक्तिनाथमा धार्मिक पर्यटकको भीड

प्रकाशित मिति: २९ आश्विन २०७३, शनिबार

मुस्ताङ, २९ असोज । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ । मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मूख्य पुजारी कृष्णप्रसाद सुवेदी बताउँछन् ।

मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ । “सोह्रश्राद्धको समय भन्दा अहिले भीड छ, बिहानैदेखि यहाँ पुजापाठ र स्नान गर्नेको भीड हुन्छ”, उनले भने, “बाटोकै कारण अझै मान्छेहरु आउन सकेका छैनन् ।”

सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । यहाँसम्म सडकको सहज पहुँच भयो भने धार्मिक पर्यटकको सङ्ख्या बढ्नेमा कुनै शंङ्का नरहेको उनी बताउँछन्  । खासगरी दसैँदेखि तिहारसम्म मुक्तिनाथमा धार्मिक पर्यटक ओइरिन थालेको हो । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण कागबेनी, मुक्तिनाथ र जोमसोमका होटल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए ।“हामीले सोचेको भन्दा बढी धार्मिक पर्यटक आएका छन्, होटलमा बास नपाएर मान्छे धर्मशालातिर बस्न बाध्य छन्”, उनले भने, “दैनिक चार हजार धार्मिक पर्यटक आउने गरेको अनुमान छ ।” अनुकूल मौसमका कारण पनि वातावरण पर्यटकका लागि सहज भएको उनको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट