सहकारीमा आकर्षण बढ्दै

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

इलाम, २१ असोज । मेची अञ्चलका इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित सहकारी संस्थाले रू एक अर्ब ५२ करोड ९६ लाख ७५ हजार ऋण लगानी गरेका छन् ।

डिभिजन सहकारी कार्यालयका अनुसार व्यवसाय सञ्चालका लागि इलामका पाँचसय २८ सहकारी संस्थाले रु एक अर्ब दुई करोड ६३ लाख ८१ हजार लगानी गरेका छन् । यस्तै पाँचथरका २३८ सहकारीले रु ३४ करोड १० लाख २३ हजार र ताप्लेजुङका १६१ सहकारीले रु १६ करोड २२ लाख ६९ हजार लगानी गरेका डिभिजन सहकारी कार्यालयका प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए।

ऋण लगानीसहित तीनै जिल्लाका सहकारी संस्थामा हालसम्ममा रु एक अर्ब एक करोड ३५ लाख ७२ हजार बचत छ । दुग्ध, बचत तथा ऋण, बहुद्देश्यीय, विद्युत्, कृषि, चियालगायतका सहकारी संस्थामा बचत गर्ने बानीको विकास हुँदै गएको छ । सहकारीमा बचत भएको रकम व्यापार, कृषि, पशुपालन, जग्गा, साना उद्योगलगायतका क्षेत्रमा लगानी हुने गरेको छ ।

लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, वित्तीय प्रगतिजस्ता क्षेत्रमा सहकारी संस्थाले ठूलो योगदान पु¥याएको श्रेष्ठको भनाइ छ । बैंक तथा अन्य वित्तीय संस्था भन्दा सहकारीले सस्तो ब्याजमा ऋण लगानी गर्ने भएकाले दिनप्रतिदिन सहकारीमा आकर्षण बढ्दै गएको हो ।

सहकारी संस्थालाई दिगो रूपले सञ्चालन गरिराख्नका लागि संस्थाले आम्दानीको निश्चित रकम जगेडा कोषमा राख्ने गरेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका करिब एक हजार सहकारीले रु १७ करोड ६६ लाख २१ हजारको कोष खडा गरेका छन् ।

कोषमा इलामका सहकारीले रु ११ करोड २० लाख ५० हजार, पाँचथरका सहकारीले रु तीन करोड ५० लाख ७३ हजार र ताप्लेजुङका सहकारीले रु दुई करोड ९४ लाख ९७ हजार जम्मा गरेका बताइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट