कुलेखानी पूर्णरूपमा नभरिँदा हिउँदमा विद्युत् उत्पादनमा समस्या हुने

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

काठमाडौँ, २१ असोज । मनसुन सकिन लाग्दा देशको एकमात्र जलाशय कुलेखानी भरिन अझै १० मिटरको हाराहारीमा बाँकी छ । मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी पहिलो र दोस्रोबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन हुने गरेको छ ।

सञ्चित शक्तिको रूपमा रहेको मुलुकको एकमात्र जलाशय कुलेखानी यसपटक पनि पूर्णरूपमा नभरिँदा आगामी हिउँदमा पूर्ण रूपमा विद्युत् उत्पादनमा समस्या हुनेभएको छ ।

ऊर्जाको ‘ब्याक अप’को रूपमा रहेको कुलेखानीको जलाशय एक हजार ५२० मिटर मात्र भरिएको छ । नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठकाअनुसार करिब दश मिटरको हाराहारीमा पानी भरिन बाँकी छ । “ठूलो वर्षा भएन भने यस वर्ष जलाशय भरिने सम्भावना कम छ, वर्षा जारी रहेका कारण सो क्षेत्रमा अझै पनि जलाशय भरिनसक्ने सम्भावना छ ” उनले  भने ।

यस वर्ष एक हजार ५२५ मिटर मात्र भरिने र त्यसले आगामी हिउँदमा साँझको समयमा विद्युत् उत्पादन गर्न सहयोगी हुने उहाँको भनाइ छ । गत हिउँदमा कुलेखानीको जलाशय घटेर एक हजार ५०३ मिटरमा झरेको थियो । अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी विद्युत् माग भएका कारण पनि जलाशय पूर्ण रूपमा सञ्चालन गर्दा पानीको तह केही कम हुन पुगेको थियो ।

“अघिल्ला वर्षमा पनि दसँै तिहारसम्म जलाशय भरिने गरेको थियो तर गत वर्ष भने पूर्णरूपमा भरिएन,” प्रमुख श्रेष्ठले भने । विद्युत्भार कटौतीलाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको महत्वपूर्ण भूमिका रहने गरेको छ । जलायश भरिँदा प्राधिकरणलाई समेत हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न सहज हुने गर्दछ । विद्युत्को अत्याधिक माग भएको समयमा मात्रै कुलेखानीलाई विशेष गरी साँझको समयमा मात्र चलाउने गरिएको छ ।

कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । त्यसमा पहिलो आयोजनाबाट ६० मेगावाट र दोस्रो आयोजनाबाट ३२ मेगावाट विद्युत् उत्पादन गरिन्छ । कुलेखानी तेस्रो आयोजना निर्माणको चरणमा रहेको छ । सो आयोजना आगामी पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्न सकिए थप १४ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

इलेक्ट्रोमेकानिकल ठेकेदारले समयमा काम नगरेको कारण आयोजनामा समस्या भएको भन्दै पछिल्लो पटक उर्जा मन्त्रालयले तोकिएको अवधिमा काम सम्पन्न नभए कारबाही गर्ने चेतावनी दिएपछि परियोजना सुरु भएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट