उत्तरी नाका रसुवागढीबाट रातिमात्र केरुङको सामान ढुवानी गर्न पाउने

प्रकाशित मिति: १९ आश्विन २०७३, बुधबार

रसुवा, १९ असोज । उत्तरी नाका रसुवागढीबाट रातको समयमा मात्र मालवाहक सवारीसाधन केरुङ जान पाउने भएका छन् ।

रसुवागढी मितेरी पुलदेखि चिनियाँ भूभागको केरुङसम्म बिग्रेका सडक मर्मत एवम् पुनःनिर्माणको कार्य भइरहेका कारण सडक सुधार कार्य सहज बनाउन दिनको समयमा काम गराउने तथा रातको समयमा व्यावसायिक सामान बोक्ने ट्रक कन्टेनर छोडिने व्यवस्था मिलाइएको जानकारी चिनियाँ पक्षबाट आएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए ।

दसैँयता अब मालसामग्री लिने ट्रक कन्टेनर केरुङ जाँदै गरेका सबै मालवाहक सवारीसाधन लगभग तीनसय ५० वटा नेपाल फर्किसकेका छन् । करिब एक सय ५० ट्रक कन्टेनर जाँचपास भई आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र अन्य सवारीसाधनमा ल्याएका सामग्रीको परीक्षण कार्य लामबद्ध रूपमा भइरहेको बताइएको छ ।

चीनबाट आयात भएका सामग्रीमा तामाकोसी, मध्यभोटेकोसीलगायत जलविद्युत् आयोजनाका उपकरण, स्याउ, इलेक्ट्रिक सामान, कम्प्युटर पार्ट, तयारी पोसाक, रोलकपडा, जुत्ता, चप्पल, बच्चाका खेलौना, मोटरका पार्टपुर्जालगायत सामग्री भएको प्रमुख भन्सार अधिकृत पनेरुले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट