पोखरा–काठमाडौं भिआइपी बस सेवा सुरु

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

पोखरा । पोखरा जगदम्बा ट्राभल्सले शनिबारदेखि अत्याधुनिक सुविधायुक्त अति विशिष्ट भिआइपी बस सेवा सुरु गरेको छ । ट्राभल्सले ‘मिनीबार, शौचालय, वास बेसिनसहितको बस सेवा शनिबारदेखि काठमाडौं–पोखरा रुटमा सञ्चालन सुरु गरेको हो ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत उक्त बस सञ्चालन भएको सञ्चालक केशवप्रसाद अधिकारीले जानकारी दिए । उनले अहिले २ वटा बसबाट सेवा सुरु गरेको बताए । एउटा बसको मूल्य करिब १ करोड रुपैयाँ परेको अधिकारीले जानकारी दिए । बस ठूलो भए पनि मिनिबार र शौचालय भएका कारण २८ सिट क्षमता मात्र रहेको बताए ।

उनले बसलाई सकेसम्म स्तरीय र आधुनिक बनाएर सेवा सुरु गरेको बताए । सिटलाई यात्रुले खुट्टालाई पनि आरामसँग राख्न सक्ने खालको निर्माण गरेको अधिकारीले बताए । यात्रुको चाहना अनुसार चिया, कफी र चिसो सिटसम्म नै पु¥याएर सेवा उपलब्ध गराउँछौँ,’ उनले भने । यात्रुको सेवाका लागि ‘बस क्रियु’को व्यवस्था गरिने अधिकारीले जानकारी दिए । बसमा निःशुल्क वाइफाइ, पानी, जुस र टिभीको सुविधा रहेको छ ।

खाजा, चिया, कफी र पानी बसभित्रै प्रदान गरिने भएकाले बाटोमा खाना खान मात्र बस रोकिने अधिकारीले बताए । बसको एकतर्फी भाडादर नेपालीका लागि १ हजार ५ सय र विदेशीका लागि २ हजार रुपैयाँ कायम गरिएको उनले बताए । ‘एसी’ र ‘हिटर’को सुविधा रहेको छ । पोखरा लेकसाइडबाट १० बजे र अमरसिंह चोकबाट ११ बजे काठमाडांैका लागि छुट्ने उनले बताए ।

त्यसै गरी काठमाडौंको कलंकीबाट बिहान ११ बजे छुट्ने बताए । बसको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्घाटन गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट