मासुमा परनिर्भरता

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

काठमाडौं । यसवर्ष नेपालमा ३ अर्ब ३ करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भँैसी, खसीबोका र बाख्रा आयात भएको छ । भन्सार विभागले (आव ०७२÷७३) मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्यांक पुस्तकमा विश्वका २ देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।

भारतबाट राँगा र भैँसी २ लाख ४७ हजार २ सय २५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५ सय ४१ र अस्ट्रेलियाबाट ४ लाख ७९ हजार १ सय ३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा ३ अर्ब ४१ लाख ९८ हजार रुपैयाँको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी ३ करोड ४८ लाख ८९ हजार रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख छ ।

गत पुस ९ गते पशुपंछी विकास मन्त्रालय गठनपछि मन्त्रालयले औपचारिक रूपमा यसअघि अन्डामा १, दूधमा २ र मासुमा ३ वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ । ३ महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी ३ वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने जानकारी मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले दिए ।

यहाँ प्रतिव्यक्ति प्रतिवर्ष ११ केजी मासु खाने गरेको पाइन्छ तर विकसित मुलुकमा १४ केजी मासु खाने चलन छ । विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको मासुमा ४५ प्रतिशतले उत्पादन बढाउनुपर्ने हुन्छ । पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य ८ प्रतिशत योगदान छ ।

परम्परादेखि चौपाया नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास हुँदै आएकाले खरखाचोमा दूध, दही र घिउको बिक्री बढेकोे कृषि उद्यमी उद्धव अधिकारी बताउँछन् । दिगो पशुजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपंछी पालन नीति ६ महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यसैगरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु वधशाला तथा मासु जाँच ऐन, दाना ऐन, र बिमा ऐन परिमार्जनका साथै पशु कल्याण ऐन, पशुपंछी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

पशुपालक कृषक रमेश तिमल्सिना पशुपन्छीको नस्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एवं उत्पादित पशुजन्य पदार्थको बजारीकरण कार्य समानान्तर रूपमा अगाडि बढाउनुपर्ने बताउँछन् ।

मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपन्छी विकास विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार ०७१÷७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार २ सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ ।

जसमध्ये राँगा÷भैँसीको १ लाख ७३ हजार ९ सय ६, खसी बोका ५९ हजार ५३, बंगुर १९ हजार २ सय ६९, कुखुरा ४३ हजार १ सय ३३, भेडा÷च्यांग्रा २ हजार ६ सय ५६ र हाँस २ सय २७ मेट्रिक टन उत्पादन भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट