जेष्ठ खुल्ला ब्याडमिन्टन : रत्न र दीपेश प्रि–क्वार्टरमा

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १७ असोज । नेपाल आर्मी क्लबकाद्वय रत्नजित तामाङ र दीपेश धामी ज्येष्ठ खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सको प्रि–क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । जेष्ठ ब्याडमिन्टन एकेडेमीको आयोजनामा आइतबारबाट सुरु भएको प्रतियोगिताअन्तर्गतका खेलमा आर्मीका रत्नले ज्येष्ठ ब्याडमिन्टनका प्रिन्स दाहाललाई २१–१३ र २१–८ को सोझो सेटमा पराजित गर्दै प्रि–क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हुन् ।

यस्तै, आर्मीकै दीपेश धामीले ज्येष्ठका भरुन सिलाई २१–११ र २१–८ ले पराजित गरे । आइतबारका अन्य खेलमा पुलिसका विष्णु कटुवालले आर्मीका रुपेश महर्जनलाई २१–१६ र २१–१२ ले तथा ज्येष्ठका गौचन कठायतले सशस्त्रका सुदीप सेढाईलाई २१–१३ र २१–११ ले स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनाए । यस्तै पुरुष सिंगल्सतर्फ कैलालीका सञ्जीव खड्का, आर्मीका नवीन श्रेष्ठ, सशस्त्रका विजित थापामगर र भोजपुरका विकास श्रेष्ठले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए । पुरुष सिंगल्सतर्फ पोखराका भूगोल गुरुङ र लक्ष्मण श्रेष्ठको जोडीले तिनचुलीका विशाल लिङथेप र वसन्त लिम्बुको जोडीलाई २१–११ र २१–१४ ले पाखा लगायो ।

सशस्त्रका इन्द्र महता र पंकज चन्दको जोडीले फ्लेकसका दिनेश राई र सन्तोष भट्टराईको जोडीलाई २१–१३, १६–२१ र २१–१० ले तथा ज्येष्ठका सुनील जोशी र गौतम कठायतको जोडीले पाल्पाका विकास कार्की र विनय खातीको जोडीलाई २१–९ र २१–१९ ले पाखा लगाउँदै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरे । कपिलवस्तुका सन्दीप श्रेष्ठ र रितेश थापाको जोडीले मकवानपुरका सुनील श्रेष्ठ र अभिषेक बोसबाट तथा आर्मीका राम राई र सुरज महर्जनको जोडीले शशी रावत र अर्जुन छन्त्यालबाट वाक ओभर पाए ।

प्रतियोगिताअन्तर्गत सोमबारबाट पुरुष सिंगल्स र डबल्स तथा मास्टर ३५ का प्रि–क्वार्टर तथा क्वार्टर फाइनलका खेलहरू हुने आयोजकले जनाएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा असोज २० गते सम्म चल्ने प्रतियोगितामा पुरुष एकल, पुरुष डबल्स, महिला डबल्स, यु–१५ पुरुष, मास्टर ३५ वर्षभन्दा माथि र ४५ वर्षभन्दा माथिको उमेर समूहमा गरी ६ इभेन्ट समावेश छ । प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए । प्रतियोगिताको पुरुष एकल विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनलमा पुगेको २ खेलाडीले समान ८ हजार, पुरुष डबल्स विजेताले २५ हजार, उपविजेताले १५ हजार, सेमिफाइनल पुग्नेले समान ८ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

महिला डबल्स विजेताले २० हजार, उपविजेताले १२ हजार, सेमिफाइनलमा पुग्नेले समान ७ हजार पाउनेछन । यसैगरी यु–१५ पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले ८ हजार, सेमिफाइनलमा पुगेको खेलाडीले समान ५ हजार पाउनेछन् ।

त्यस्तै मास्टर(३५वर्ष) को विजेताले २० हजार, उपविजेताले १२ हजार र सेमिफाइनल पुग्नेले ७ हजार, मास्टर(४५वर्ष) तर्र्फको विजयीले २० हजार, उपविजेताले १२ हजार र तेस्रो हुने २ खेलाडीले ८ हजार पाउनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट