भ्यागुते रोगको भ्याक्सिन

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २२ भदौ । सरकारले भ्यागुते रोगविरुद्धको औषधि ‘डिप्थेरिया एन्टी टक्सिन’ ५० भाइल नेपाल ल्याएको छ ।

आयात गरिएका औषधिमध्ये २५ भाइल त्रिवि शिक्षण अस्पतालको बालरोग विभागलाई आइतबार हस्तान्तरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी २५ भाइल हामीले आफैँसँग राखेका छौँ । फेरि अन्य ठाउँमा चाहिएमा वितरण गर्नेछाँै । थप ५० भाइल औषधिका लागि विश्व स्वास्थ्य सङ्गठनलाई आग्रह गरिएको छ । त्यो तीन÷चार दिनमा आइपुग्छ ।”

गत शुक्रबार मात्र भ्यागुते रोग लागेर उपचार गराइरहेकी एक बालिकाको औषधि अभावमा ज्यान गएको थियो । अहिले त्रिवि शिक्षण अस्पतालमा भ्यागुते रोग लागेका एक बालकको उपचार भइरहेको छ । अर्का एक जनालाई भने उपचारपछि घर फर्काइएको छ ।

अहिले देशका विभिन्न ठाउँमा भ्यागुते रोगविरुद्धको खोप अभियान चलिरहेको छ । डिपिटी खोप नलगाएमा सो रोग लाग्ने सम्भावना धेरै हुने चिकित्सकले बताएका छन् । तत्काल उपचार नपाए ज्यानै जाने जोखिम हुने भएकाले सुरुमा घाँटी दुख्ने र सुन्निनेबित्तिकै उपचार गर्न चिकित्सकको सुझाव छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट