जलजला क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक बनाइने

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

लिबाङ (रोल्पा), ४ असोज । जलजला बहुमुखी क्याम्पस लिबाङ, रोल्पालाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन अनुरोध गर्नका लागि सर्वदलीय बैठकले निर्णय गरेकोे छ ।

जिल्ला सदरमुकाममा रहेको क्याम्पस नाजुक अवस्थामा गुज्रिरहेको हुँदा शैक्षिक र आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले क्याम्पसलाई कुनै न कुनै विश्वविद्यालयको आङ्गिक बनाउनुपर्ने भएको क्याम्पस प्रमुख कृष्णप्रसाद न्यौपानेले जानकारी दिए।

उहाँका अनुसार क्याम्पसको अवस्था विद्यार्थीको सहुलियत, क्याम्पसको समग्र विकास र थप शैक्षिक अवसरको आवश्यकतालाई महसुस गर्दै क्याम्पसलाई आङ्गिक बनाउनका लागि  सर्वदलीय तथा सर्वपक्षीय बैठकको आयोजना गरिएकोे थियो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त उक्त क्याम्पसमा २८१ जना छात्रछात्रा अध्ययनरत छन् । विसं २०६१ भदौमा औपचारिकरुपमा स्थापना गरिएको क्याम्पसमा हाल शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन सङ्काय सञ्चालनमा रहेका छन् ।

सोह्रजना मात्र प्राध्यापकले तीनवटा सङ्कायलाई सञ्चालन गरिरहेको अवस्था छ जसमा पनि १२ जना मात्र पूर्णकालीन प्राध्यापक रहेकोे क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसको वार्षिक आय अन्दाजी रु ४० लाख भएपनि व्यय भने करिब रु ८० लाखको हाराहारीमा पुग्ने गरेको न्यौपानेले जानकारी दिए । विद्यार्थी शुल्कबाट करिब रु ३२ लाख र विश्वविद्यालय अनुदान रु एक लाख ४० हजारदेखि अधिकतम रु सात लाख ६० हजारसम्म प्राप्त हुने गरेको छ ।

यसरी आम्दानीभन्दा खर्च बढी हुने भएकाले क्याम्पस सञ्चालनमा हम्मेहम्मे परेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश हमालको भनाइ छ ।

भारतीय राजदूतावासको आर्थिक सहयोगमा निर्माणाधीन भवनको निर्माण कार्य २०६७ भदौ ५ गतेदेखि थालिएको थियो । यसरी २०६९ सालभित्र भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिनुपर्ने भएपनि हालसम्म हस्तान्तरण हुन नसक्दा थप समस्या निम्तिएको सरोकारवालाले बताएका छन् ।

निर्माणाधीन भवनमा पठनपाठन भने २०७० माघदेखि नै सुरु गरिएको थियो । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट