रसुवामा जिल्ला संवाद समिति गठन

प्रकाशित मिति: ४ आश्विन २०७३, मंगलवार

रसुवा, ४ असोज । रसुवाका गाउँ गाउँमा गठित सामुदायिक मेलमिलाप केन्द्रको सेवालाई सहजीकरण गर्न  जिल्ला संवाद समूह गठन भएको छ ।

अधिवक्ता एवम मेलमिलाप राष्ट्रिय प्रशिक्षक हरिप्रसाद पण्डितका अनुसार गाउँ गाउँमा गठित केन्द्रले मिलाउन नसकेको देवानी मुद्दा जिल्लास्तरमा सरोकार निकायलाई समन्वय गरी छिटो छरितो तरिकाले सुल्झाउन नौ सदस्यीय समूह गठन भएको हो ।

गाउँ समाजमा ससाना कुरालाई लिएर मध्यस्तकर्ताको अभावमा मुद्दाको रुपमा परिणत हुने र गौचरण, पानीघाट, सार्वजनिकस्थल, अतिक्रमण, लेनदेन, अंश किचोला, साँधसिमाना मिचाइ, स-साना झै – झगडा जस्ता सामान्य प्रकृतिका विषय स्थानीयस्तरका मेलमिलापकर्ताले मिलाउन नसक्ने अवस्था आई सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने अवस्था आएमा समूहले समन्वयकारी भूमिका निर्वाह गर्ने बताइएको छ ।

यस्तै केही समययता केन्द्रले गाउँसमाजमा उब्जिएका र केन्द्रको दायरामा पर्ने ८५ सामान्य प्रकृतिका मुद्दा मिलापत्र गराइसकेको केन्द्रका जिल्ला संयोजक उज्जवल आचार्यले जानकारी दिए ।

समूहमा राजनीतिक दल, नागरिक समाज, पत्रकार, सरोकार भएका निकाय, मानवअधिकारकर्मी समेत रहेका कार मेलमिलापको कार्य हुने अपेक्षा गरिएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट