चिया किसान ३२ दिनदेखि धर्नामा

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

झापा, ३१ भदौ । हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् ।

साना किसान झापाली चिया व्यवसायी सङ्घका अध्यक्ष पूर्णकुमार कार्कीको नेतृत्वमा साना चिया किसान धर्नामा बसेका छन् । तर किसानको शान्तिपूर्ण आन्दोलनप्रति आजसम्म पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण भएको छैन । झापाका चिया उत्पादक र किसानबीच विगतमा भएका कतिपय सहमति कार्यान्वयन नभएको धर्नाकारीको भनाइ छ ।

धर्नाको अगुवाइ गरिरहेका अध्यक्ष कार्कीले किसानका जायज मागप्रति बेवास्ता लम्बिए शान्तिपूर्ण आन्दोलनले अर्को स्वरुप लिने चेतावनी दिनुभएको छ । बोर्डले गत वर्ष हरियो चियापत्तीको मूल्य क्रमशः रु १२.८७, रु ११.६५ र रु १२.४७ निर्धारण गरेको थियो ।
त्यसमा १६ प्रतिशत गुणस्तर अर्थात् दुई पात एक सुइरालाई आधार मानी हरियो चियापत्तीको मूल्य बोर्डले निर्धारण गरेको थियो । तर बोर्डले निर्धारण गरेको मूल्य बिनाआधारको रहेको भन्दै चिया उत्पादक सङ्घले आपत्ति जनाउँदै आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि चिया किसान धर्नामा बस्नु परेको अध्यक्ष कार्कीको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट