मुडिकुवा–लमाए सडक कालोपत्रको काम तीव्र

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

पर्वत, ३१ भदौ । सदरमुकाम कुश्माबजार जोडिने पोखरा–बागलुङ सडकबाहेक पहिलोपटक कालोपत्र हुन थालेको पर्वतको एक ग्रामीण सडकको काम तीव्र गतिमा भइरहेको छ ।

दक्षिण पर्वतको मुडिकुवादेखि लुङ्खुदेउराली हुँदै हुवास जोड्ने सडकको मुडिकुवा–लमाए खण्डको काम तीव्रगतिमा भइरहेको हो । फलेवासको मुडीकुवादेखि लमाएखोलासम्मको करिब ७.६ किलोमिटर सडकखण्डमा अहिले कालोपत्रको काम भइरहेको छ । अहिले सडकको स्तरोन्नतिअन्तर्गत चक्ल्याउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्ने लगायतको कामले तीव्रगति पाएको छ ।

उक्त सडकखण्डको काम वसिफ प्रालि बाग्लुङले २०७४ साल असारभित्र सम्पन्न गर्ने गरी २०७२ साल जेठबाट सुरु गरेको थियो । गत वर्षको नाकाबन्दीका कारण सुस्त भएको निमार्णकार्य अहिले दु्रतगतिमा अघि बढेको हो । पहिलो चरणमा लमाएखोलासम्मको ७.६ किलोमिर सडक कालोपत्र गर्न रु ११ करोड लागत लाग्ने भएको छ । सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण तथा कालोपत्र गर्ने रहेको कम्पनीका डाइरेक्टर मङ्गल तामाङले जानकारी दिए ।

सडकको काम तोकिएकै समयमै सम्पन्न गर्नका लागि तीन स्काभेटर तथा डोजर, ७५ ज्यामी र तीनवटा ट्याक्टरलगायत मेसिन परिचालन गरेको उहाँले बताए । सडकलाई अबको केही समयमै दक्षिणी गाविस लुङ्खुदेउराली हुँदै हुवाससम्म स्तरोन्नति गर्न आफू लागिपरेको पर्वत क्षेत्र नं २ का सासंद विकास लम्सालले बताए । उहाँले मुडिकुवादेखि लमाए सडकखण्डको कालोपत्र गर्न लाग्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन भइसकेको र पहिलो चरणमा लमाएखोलासम्म कालोपत्र गरिसकेपछि फेरी हुवाससम्म पु¥याउने आफ्नो लक्ष्य रहेको बताए ।

लमाएखोलादेखि हुवाससम्मको सडकको स्तरवृद्धिका लागि अर्थमन्त्रालयमा रु ४७ करोडको टेन्डर प्रक्रिया अघि बढेको उहाँले जानकारी दिए । लम्सालका अनुसार फलेवास—हुवास सडकखण्डको विस्तृत सर्भेक्षण सम्पन्न भइसकेको छ । यस ठाउँको सडक बर्सातको समयमा खाल्टाखुल्टी हुनुका साथै सडक हिलाम्मे भई सवारी ठप्प हुँदा उक्त क्षेत्रका बासिन्दा सास्ती खेप्न बाध्य भएका थिए ।

पर्वत क्षेत्र नं २ मा नै पहिलोपटक सडक कालोपत्र हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । सडकको स्तरोन्नति र कालोपत्र भएपछि दक्षिण पर्वतका करिब डेढ दर्जन गाविसका बासिन्दाले बाह्रैमास सडक सुविधाबाट लाभान्वित हुने भएका छन् । अहिले हिउँदका आठ महिना जेनतेन सवारीसाधन चलेपनि बर्खायामका चार महिना भने ठप्प हुने गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट