चितवनमा अर्ना र बाह्रसिङ्गा ल्याइने

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

चितवन, ३१ भदौ । बाघ, गैँडाको मुख्य बासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जले २० अर्ना र २५ वटा बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट संरक्षित वन्यजन्तु बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको जानकारी दिए । अर्ना ल्याउने विषयमा प्रमुख कँडेलसहितको टोलीले कोसीटप्पुका अधिकारी तथा स्थानीयवासीसँग दुई दिनअघि छलफल गरेर समेत गरेको छ ।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राख्न ‘इक्लोजर’ निर्माणका लागि प्रक्रिया थालिसकिएको बताए । उहाँका अनुसार बाघ पस्न नसक्ने सुरक्षित क्षेत्रलाई इन्क्लोजर भनिन्छ । करिब ३० हेक्टर क्षेत्रफललाई सुरक्षित बनाएपछि मात्रै ल्याइने निकुञ्जले जनाएको छ ।

हरियो वन कार्यक्रमले तार, जालीलगायत आवश्यक सामग्री खरिदको काम थालेको र निकुञ्जले अन्य आवश्यक काम गरिरहेको समेत उहाँले जानकारी दिए । “चितवनबाट वार्डेन आउनुभयो, हामीले स्थलगत अवलोकन पनि गर्यौँ, स्थानिय समुदायसँग छलफल पनि भयो”, कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने, “कसरी लैजान सकिन्छ भन्ने विषयमा प्राविधिकहरूसँग समेत छलफल भएको छ ।”

उहाँका अनुसार कोसीटप्पुमा अहिले ४३२ वटा अर्ना रहेका छन् । त्यसमध्ये २० वटा चितवन ल्याइन लागिएको हो । चितवन निकुञ्जले पानीको स्रोतहरू, ताल, घाँसेमैदान सबै व्यवस्थापनको काम गर्दै आएको छ । “अर्नाका लागि उपयुक्त नै छ, तर बाह्रसिङ्गेका लागि छोटो घाँस चाहिने हुन्छ, हामी त्यसको व्यवस्थापन गरिरहेका छौँ”, सूचना अधिकारी अर्यालले भन्नुभयो । कोसी भँगालोमा पानीको सतह घटेपछि अर्ना ल्याइने जनाइएको छ ।
शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनलाई भने खासै समस्या नपर्ने निकुञ्जले जनाएको छ । अहिले दुई हजार २०० भन्दा बढी बाह्रसिङ्गे शुक्लाफाँटामा छन् भने बर्दियामा एक सय जति छन् । अर्ना भने कोसीमा मात्रै पाइन्छ । अघिल्लो वर्ष चितवन निकुञ्जले बर्दियामा पाँचवटा गैँडा स्थानान्तरण गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट