धुर्मुस–सुन्तलीलाई सघाउँदै विद्यार्थी

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
सिन्धुपाल्चोक, ३१ भदौ । सामाखुसीको सुप्रिम कलेजका विद्यार्थी एवं शिक्षकले गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनामा पुगेर बिहीबार एकदिने श्रमदान गरेका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पबाट घर भत्केकाका लागि सो गाउँमा एक सामुदायिक भवनसहित ६५ आवासीय भवन निर्माण गरिरहेको छ । फाउन्डेसनले देश–विदेशका व्यक्ति, संघसंस्थाबाट प्राप्त करिब ५ करोड रुपैयाँ लागतमा मेलम्ची नगरपालिका–८ मा गत वैशाखदेखि घर बनाउने काम थालेको हो ।

सुप्रिम कलेजका ३० विद्यार्थी एवं अध्यापकले निर्माणाधीन घरवरपर थुप्रिएको माटो फाल्ने, ब्लकसहितका निर्माण सामग्री ओसार्नेजस्ता श्रमदान गरेका थिए । कलेजका कोअर्डिनेटर ओमबहादुर अधिकारीले भूकम्पपीडितका लागि धुर्मुस–सुन्तलीले थालेको घर निर्माण अभियानमा केही भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा फाउन्डेसनले गर्ने काममा अझै जनश्रमदान गर्ने वचन दिए ।
विद्यार्थीहरू मुकुन्द बस्नेत र अक्रिना खकुरेलले विद्यार्थीमा समाजसेवाको भावना जागृत गराउन व्यावहारिक रुपमै जनश्रमदान गरिएको बताए ।

काठमाडौंबाट वनेपा, मेलम्ची हुँदै ७४ किलोमिटर टाढाको सो गाउँमा बाल, अपांग र वातावरणमैत्री एकीकृत नमुना बस्तीमा शनिबार झन्डै चारसय व्यक्ति अवलोकन एवं जनश्रमदानका लागि आउने परियोजनाका कोअर्डिनेटर अर्जुनप्रसाद न्यौपानेले बताए ।
जम्मा ६५ घरका ४ सय जना लाभान्वित हुने ३० रोपनीमा निर्माणाधीन परियोजनामा नेपाली सेना, क्विक भोलन्टियर तथा विदेशीले समेत जनश्रमदान गरिरहेका छन् ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जिम्मेवार नागरिकका रूपमा सहयोग जुटाएर भूकम्पपीडितलाई सहयोग थालिएको बताउँदै यो सबै नेपालीको साझा अभियान भएको बताए । सुप्रिम कलेजका शिक्षकहरू रमेशचन्द्र अधिकारी, अशोक थापा र दीपक सिलवालले एकीकृत नमुना बस्ती साँच्चैको नमूना कार्य भएको धारणा राखे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट