अन्तर्राष्ट्रिय सितोरियो कराते प्रारम्भ

प्रकाशित मिति: ३० भाद्र २०७३, बिहीबार

इटहरी, ३० भदौ । इटहरीको जनता उच्च माविको खेलमैदानमा बुधबारदेखि स्वर्गीय सुनिल अग्रवाल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता सुरु भएको छ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।

इटहरी सितोरियो कराते तथा ढुवानी व्यवसायी सङ्घको संयुक्त आयोजनामा भएको स्व सुनिल अग्रवाल स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिताअन्तर्गत बुधबार पहिलो दिन भएको सुनसरी डोजाङस्तरीय विद्यार्थीको खेलअन्तर्गत केटातर्फको २५ केजी तौल समूहमा नवीन न्यौपाने प्रथम, २० केजीमा श्यामुल राई, ३५ केजीमा विकास लिम्बू, ४० केजीमा अनुप भण्डारी र ४५ केजीमा प्रवीण राई प्रथम भएका छन् ।

त्यसैगरी, केटातर्फको एकल कातामा दीपेश लिम्बू तथा केटीतर्फको एकल कातामा सोनी श्रेष्ठ प्रथम भएका छन् । त्यसैगरी, केटीतर्फको प्रतिस्पर्धामा २५ केजीमा प्रश्ना रैकामगर, ३० केजीमा पासाङ लिम्बू, ३५ केजीमा राधिका राजधामी र ४० केजीमा सोनी श्रेष्ठ प्रथम भएकी छिन् । प्रतियोगितामा केटाकेटी गरी डेढसय खेलाडीको सहभागिता थियो ।

सोही प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रणका खेलमा विभागीय नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै नेपाल, भारत र भुटानका ४५ देखि ७५ केजीमाथि तौल समूहका पनि डेढ सय खेलाडीको सहभागिता रहेको र उनीहरूको प्रतिस्पर्धा आजदेखि प्रारम्भ गरिने कार्यक्रम रहेको छ ।

आयोजक समितिका संयोजक सनतबहादुर डुम्जनको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको विधिवत् रूपमा उद्घाटन गरेका थिए । सो अवसरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इं, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिना र समीर पोख्रेलले पनि बोलेका थिए । रासस


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट