सेपाकताक्रो टोलीको बिदाई

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

काठमाडौं । भियतनामको दानाङमा हुने पाँचौँ एसियाली विचगेम्सअन्तर्गत सेपाकताक्रोमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरी एक कार्यक्रमबीच बिदाइ गरे । सेप्टेम्बर २४ देखि २९ तारिखसम्म हुने गेम्समा अनिल गुरुङको कप्तानीमा अनिल जर्घा मगर, एलेन गुरुङ, रुपेश सुनार र सुजन डंगोलले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीले रेगु र ट्रियो स्पर्धामा भाग लिनेछन् ।

भियतनामअघि टोली बुधबार तालिमका लागि थाइल्यान्डको बैंकक जानेछ । १ साताको तयारी प्रशिक्षणपछि सेप्टेम्बर २३ तारिखमा टोली थाइल्यान्डबाट भियतनामका लागि उड्नेछ । टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ र प्रशिक्षकमा रामबहादुर थापा रहेका छन् । उनीहरू सेप्टेम्बर २२ मा सिधै भियतनाम जाँदै छन् ।

भियतनामको गेम्सपछि टोली बैंककमै अक्टोबर १७ देखि २४ तारिखसम्म हुने ३१औँ किङ्स कप वल्र्ड टुर्नामेन्टमा सहभागी हुनेछ । किङ्स कपमा भियतनामका ५ सहित ९ खेलाडी सहभागी हुनेछन् । थप खेलाडीहरूमा रोशन तामाङ, सैलेश दाहाल, राजु तामाङ र मुकुन्द गौतम रहेका छन् । टोलीले डबल इभेन्ट, रेगु र टिम रेगुमा प्रतिस्पर्धा गर्नेछन् । यो टोलीको प्रशिक्षकको जिम्मेवारी गंगाबहादुर गुरुङले सम्हाल्ने छन् । (रिनेस)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट