सुनिताको ‘आँशुको शक्ति’ विमोचित

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ भदौ । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले शक्ति समूहकी पूर्वअध्यक्ष सुनिता दनुवारद्वारा लिखित एवं वरिष्ठ पत्रकार टंक पन्तद्वारा सम्पादित ‘आँशुको शक्ति’ नामक पुस्तक विमोचन भएको छ । मंगलबार एक समारोहका बीच पुस्तकको विमोचन गरिएको हो ।

पुस्तक लेखन गर्ने संस्था घोस्ट राइटिङ नेपालद्वारा प्रकाशित पुस्तकमा मानव बेचबिखनपश्चात मुम्बईलगायत विभिन्न देशमा महिलालाई कसरी प्रताडित बनाइन्छ र अहिले मानव बेचबिखनको अवस्था कस्तो छ भन्नेजस्ता कुराहरू जस्ताको तस्तै समेटिएको भन्दै अध्यक्ष ओलीले मानब बेचबिखन अन्त गर्नका लागि पुस्तक महत्वपूर्ण भएको बताए । यस्तै घोस्ट राइटिङका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको समारोहमा पुस्तकका सम्पादक वरिष्ठ पत्रकार टंक पन्तले सुनिता दनुवारसँग यति धेरै घटना विषयहरू थिए तर पुस्तकमा सबै समेटन नसकेको भए पनि मानव बेचबिखनको अवस्था, बेचबिखन पश्चात हुने दर्दनाक पीडा, अहिले मानव बेचबिखनको स्वरुपमा भएको परिवर्तन, सामाजिक न्यायका विरुद्ध महिलामाथि हुने जघन्य हिंसा, राज्य र राज्यको भूमिका कस्तो रहेको भन्ने जस्ता सम्पूर्ण विषयहरू प्रतिनिधिमूलक रूपमा पुस्तकमा समेटिएको जानकारी गराएका थिए ।

पुस्तकको समीक्षा गर्दे वरिष्ठ मानवअधिकारकर्मी नागरिक समाजका अगुवा गौरी प्रधानले यस पुस्तकमार्फत सुनिताले समस्यालाई उजागर गरेर समाजको आँखामा लागेको पर्दा हटाएको बताए । समारोहमा बोल्दै लेखक सुनिता दनुवारले सम्पूर्ण आफ्ना कुरा पुस्तकमै रहेको भन्दै पुस्तक प्रकाशनका लागि सहयोग गर्ने परिवार, प्रकाशक र सम्पादकप्रति आभार व्यक्त गरिन् । उनले पुस्तक पढेर सुझाव दिएमा आगामी अंकमा सच्याएर प्रकाशन गरिने बताएकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट