सहुलियत पसललाई प्रभावकारी बनाउन निर्देशन

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, १४ भदौ । आसन्न चाडपर्वका अवसरमा सञ्चालन हुने सुपथ मुल्यका पसललाई प्रभावकारीरूपमा सञ्चालन गर्न उद्योग, वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले काठमाडौँ उपत्यकालगायत मुलुकका अन्य स्थानका साथै खासगरी दुर्गम तथा भूकम्पबाट प्रभावित जिल्लाका सर्वसाधारणलाई चाडपर्वका अवसरमा सहुलियतरूपमा खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले विगत वर्षमा सहुलियतपूर्वक सञ्चालन गरेबापत सरकारले संस्थानलाई उपलब्ध गराउन बाँकी रकम अबिलम्ब सोधभर्ना दिलाउने व्यवस्था गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले पाँच वर्षदेखि बाँकी रहेको सोधभर्ना उपलब्ध गराउने सम्बन्धमा समितिले अर्थ मन्त्रालयसँग छलफल गर्ने जानकारी दिँदै सहुलियत पसल सञ्चालनका लागि खाद्य संस्थान, नेसनल ट्रेडिङ एवम् साल्टट्रेडिङले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

बैठकमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले चाडवाडका अवसरमा आपूर्ति व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने तथा बजारमा विचौलियालाई कडा निगरानीमा राख्नुपर्ने बताउनुभयो । बैठकमा सहभागी सांसदले बजार अनुगमनलाई विशेष प्राथमिकतामा राखेर अत्यावश्यीयक वस्तुको आपूर्ति तथा व्यवस्थापनको पाटोमा सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।

आपूर्ति सचिव श्रीधर सापकोटाले समितिले दिएको निर्देशनलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्दै बजार व्यवस्थापन र अनुगमनलाई विशेष ध्यान दिने बताउनुभयो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट