पुनरावेदन अदालतमा दुईजना मात्रै न्यायाधीश !

प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

इलाम, २६ भदौ । पुनरावेदन अदालत इलाममा न्यायाधीको संख्या कम भएपछि मुद्दाको चाप बढे पनि कमै मात्रामा मुद्दा फैसला हुने गरेको छ । ०६६ सालदेखि ५ जना न्यायाधीश रहने गरेको पुनरावेदन अदालतमा हाल २ जना मात्र न्यायाधीश छन् । १ जना न्यायाधीश बिदा बसेमा बेन्च नै खाली हुने गरेको छ ।

न्यायाधीश कम हुँदा आव ०७२÷७३ मा १ हजार ५ सय २५ मुद्दा रहेकामा ७ सय २९ वटा मुद्दा फैसला भएको पुनरावेदन अदालत इलामका निमित्त रजिष्ट्रार रोशनकुमार भट्टराईले जानकारी दिए । ‘१ जना न्यायाधीश बिदा बस्नुभयो भने मात्र इजलास बस्न नसक्ने हुँदा थोरै समयमा धेरै मुद्दा फैसला गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, भट्टराईले भने । एक वर्षदेखि १८ महिनासम्मको मुद्दा ७७ वटा र १८ महिनादेखि २ वर्ष नाघेको मुद्दा गत साउनमा फस्र्योट भइसकेको अदालतले जनाएको छ ।

गत २० साउनमा मुद्दा फैसला भएको यो अदालतमा भदौ महिनामै १ सय १४ मुद्दा फैसला भएको छ । ६२ दिनमा जम्मा १६ दिन मात्र बेन्च बस्न सकेकाले मुद्दा फैसलामा कम भएको र एकैदिन १५ देखि २० वटा मुद्दा फैसला हुने गरेको अदालतका मुख्य न्यायाधीश रमेशकुमार पोख्रेलले बताए ।

न्याय प्रशासन संशोधनसम्बन्धी विधेयक सदनमा टेबल भएको र अस्थायी न्यायाधीशहरू पदमुक्त भएका कारण पुनरावेदन अदालतमा न्यायाधीशको संख्यामा कमी भएको बताइएको छ ।

प्रदेशमा उच्च अदालत गठन र हाल रहेका पुनरावेदन अदालतको स्वरूपबारे विधेयक पास भएपछि मात्र व्यवस्था हुने भएपछि तत्कालै न्यायाधीशको संख्या थप हुने अवस्था नरहेको उनको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट