‘प्रहरी मेरो साथी’ अभियान लिएर गाउँ पसे प्रहरी

प्रकाशित मिति: २६ भाद्र २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

भीमदत्तनगर, २६ भदौ । नेपाल प्रहरीले थालेको ‘प्रहरी मेरो साथी’ अभियानले कञ्चनपुरमा तीव्रता पाएको छ । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको प्रहरीले केही समयअघिसम्म ‘मुस्कानसहितको प्रहरी’ ‘जिब्रोको गरिमा, मीठो बोलीमा’ जस्ता अभियान समाजमा सञ्चालन गरिसकेको छ ।

प्रहरीले आव ०७२/७३ को नीति तथा कार्यक्रममा नै ‘प्रहरी मेरो साथी’ अभियान समावेश गरी देशभर सञ्चालनमा ल्याएको थियो । प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृति विसंगतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्ने अभिप्रायले यो अभियान सुरु गरिएको हो ।

हाल देशका ७५ वटै जिल्लामा सञ्चालनमा रहेको उक्त अभियानले कञ्चनपुरका ग्रामीण बस्तीमा पनि प्रभाव देखाइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले यहाँका विभिन्न सामाजिक संघ, संगठनलगायत सरोकारवाला निकायसँग समन्वय गरी अभियानलाई जिल्लाको सबै क्षेत्र र बस्तीमा पु¥याउन दिनहुँ सक्रिय हुँदै गइरहेको छ ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न जिल्लाका सबै क्षेत्रमा अभियान थालिएको जिप्रका, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताए ।

शनिबार इलाका प्रहरी कार्यालय झलारीले यहाँको देखतभूली गाविस–४ कालागौडीमा समेत उक्त अभियान सञ्चालन गरेको थियो । अभियान घरदैलोमा लैजाँदै गर्दा सर्वसाधारणले आफ्ना समस्याहरू प्रहरीसामु राख्ने गरेको प्रहरी निरीक्षक सुदाम रावलले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट