सउल र अमेरिकाका दुई सहरमा नेपथ्यको लोक–रक प्रस्तुति

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं । रोपाईंका काम सकिएर गोडमेलको कामचलिरहेको छ । दसैँ–तिहारजस्ता चाड मुखैमाआइपुगेका छन् । यस्तो बेलामा साँस्कृतिकआनन्दमा डुब्न खोज्ने नेपालीमनहरुको निम्तो पछ्याउँदै परिचित लोक–रक ब्यान्ड नेपथ्यले फेरि प्रवासतर्फको यात्रा घोषणा गरेको छ । यो सेप्टेम्बर महिना टोलीले विश्वका ३ वटा प्रमुख सहरहरुमा नेपालीपनको ध्वनी घन्काउनेछ । यात्राको सुरुवात हुनेछ दक्षिण कोरियाको सउल सहरबाट ।

दक्षिण कोयरियाको राजधानी सउलस्थित प्रख्यात ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस) मा नेपथ्यको पहिलो प्रस्तुति हुनेछ । कुनै समय ‘केबिएस स्पोर्टस् बर्ल्ड’अन्तर्गत ‘स्पोर्टस् हल १’ भनेर चिनिने यो मञ्च यतिबेला अन्तर्राष्ट्रियस्तरको कन्सर्ट थलोका रुपमा विकास गरिएको छ । एकसाथ ३ हजार दर्शकलाई समेटेर अत्याधुनिक सुविधासहितको सांगीतिक आनन्द दिन–लिन सकिने यो हलमा प्रकाश व्यवस्थाका निम्ति ‘स्टेट अफ दि आर्ट हाइटेक लाइटिङ’ र त्यही स्तरको ‘साउन्ड सिस्टम’ जडित छ ।

यो कार्यक्रमलाई त्यहाँस्थित ‘तामाङ समाज’ले प्रस्तुत गर्न लागेको हो । कोरिया आफैँ पनि उसको महत्वपूर्ण चाड ‘चुसक’मा डुबेको बेला तामाङ समाजले नेपथ्यलाई त्यहाँ बोलाएको हो । ३ दिनसम्म सार्वजनिक उत्सवका रुपमा मनाइने यो पर्व वाली भित्र्याउने समयसँग जोडिएको छ । रैथानेहरुले यो क्षणलाई परिवार र आफन्तसँग आनन्द लिने अवसरका रुपमा मनाउँ छन् भने रोजगारी वा अध्ययनका निम्ति कोरिया पुगेका आप्रवासीहरुको निम्ति यो चाड साथीभाइसँग भेटघाट र रमाइलो गर्ने क्षण बन्न पुग्छ । सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीले यस्तै रमाइलो मनाइरहेका बेला त्यो अवसरलाई अझ स्मरणीय बनाउने प्रयास नेपथ्यले गर्नेछ ।

दक्षिण कोरियाको मञ्चमा नेपथ्य चौथोपटक उभिन लागेको हो । ‘सउलका दर्शकमाझ हामी पहिलोपटक सन् २००५ मा प्रस्तुत भएका थियौँ । त्यो पहिलो कार्यक्रम विश्वविद्यालयको अडिटोरियममा आयोजना गरिएको थियो । हाम्रो संगीतकर्मले देशभित्र र बाहिर पनि सबै उमेर, लिंग, जात र वर्गका मानिसलाई एउटै सूत्रमा बाँधेर एकताबद्ध पारिदिने गरेको प्रतिक्रियाहरु पाउँदा मलाई जहिल्यै खुसी महसुस हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी गीतका माध्यमबाट सबैलाई बाँध्ने कोशिस गर्छौं र यसरी प्राप्त हुने एकताको बलले नै हामीलाई शक्तिशाली बनाउँछ भन्ने मलाई लाग्छ ।’

दक्षिण कोरियाको कार्यक्रम सकिनेवित्तिकै नेपथ्य थोरै क्षणका निम्ति स्वदेश फिर्नेछ । केहि दिनको नेपाल बसाइपछि टोली फेरि अमेरिकाका दुईवटा सहरमा आफूलाई उभ्याउनका निम्ति त्यसतर्फ जानेछ । अमेरिकाको पहिलो कार्यक्रम २४ सेप्टेम्बरका दिन न्यूयोर्कमा आयोजना हुनेछ । त्यस दिन नेपथ्यले म्यानहटनको त्यही प्रसिद्ध ह्यामस्र्टेन बलरुममा आफूलाई उभ्याउनेछ जहाँ गएको वर्ष टोलीले अमेरिकाको यो ब्यस्त सहरका वासिन्दालाई २ घन्टासम्मै नचाएको थियो । त्यहाँस्थित ‘वल्र्ड फेसन परेड’ले कलाका माध्यमबाट विश्व शान्तिको भावना विकास गर्न आयोजना गरिरहेको ‘फेसन विक’कै मुख्य प्रस्तुतिका रुपमा नेपथ्यको यो कन्सर्ट आयोजना हुन लागेको हो । नेपथ्यले त्यस साँझको प्रस्तुतिमा ‘शान्तिको लागि संगीत’ भावनालाई केन्द्रमा राख्दैछ ।

अमेरिकाको पूर्वी कुनामा रहेको विश्वकै ब्यस्त सहर न्यूयोर्कपछि नेपथ्यले एकैपटक पश्चिमी कुनामा रहेको विश्वकै सुन्दर मानिने सहर सानफ्रान्सिस्कोतर्फ यात्रा गर्नेछ । अक्टोबर महिनाको पहिलो दिन त्यस सहरकै महत्वपूर्ण हल ‘वारफिल्ड थिएटर’ मा नेपथ्य प्रस्तुत हुनेछ । संयोगले त्यो नेपालीहरुको महान चाड दसैँको पहिलो दिन घटस्थापनासमेत परेको छ । सानफ्रान्सिस्कोको प्रस्तुतिपछि ब्याण्ड परिवारका साथ दसैँ मनाउन स्वदेश फिर्नेछ । त्यसपछिको समय भने दसौं अल्बमका थप गीतहरु सार्वजनिक गर्ने तयारीमा टोली ब्यस्त हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट