विजय र किपेन्द्रलाई स्वर्ण

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १२ असोज । नेपाल आदर्शका विजय श्रेष्ठ र सितु बोर्डिङ स्कुलका किपेन्द्र श्रेष्ठले दोस्रो त्रियोग अन्तरस्कुल जुडो प्रतियोगितामा मंगलबार स्वर्ण जितेका छन् । धापासीस्थित आयोजक त्रियोग स्कुलमा भएको छात्र ६० केजीमाथि विजयले जेम्सका साश्वत पछेरा तथा ६० केजीमुनि किपेन्द्रले त्रियोगका प्रणत पोखरेललाई फाइनलमा पराजित गरे ।

छात्र ३० केजीमुनि कान्ति ईश्वरी राज्यलक्ष्मीका सुवर्ण गिरीले सितुका सुमन गौतम, ३५ केजीमुनि गोकर्णका अर्जुन क्षेत्रीले जेम्सका जेरण अधिकारी, ४० केजीमुनि बाल सेवाका अउबिदुल्लाह अन्सारीले जेम्सका रेशम गुरुङ, ४५ केजीमुनि शखिल बस्नेतले जेम्सका अशिम शाह, ५० केजीमुनि जेम्सका आयाम राजभण्डारीले नेपाल आदर्शका अजय मगर तथा ५५ केजीमुनि जेम्सका शिवमकुमार सिंहले सितुका रिकेश अधिकारीलाई हराउँदै स्वर्ण जिते ।

छात्रा ३२ केजीमुनि महेन्द्र भवनकी आशमाया कामीले सितुकी करुणा पाण्डे, ३६ केजीमुनि नेपाल आदर्शकी विनिता तामाङले सितुकी अनिता मगर, ४० केजीमुनि गोकर्णकी उर्मिला राउतले बाल सेवाकी नमिता गौतम, ४४ केजीमुनि सितुकी विनिता मगरले सरस्वती निकेतनकी अनिशा श्रेष्ठ, ४८ केजीमुनि सितुकी कविता तामाङले नेपाल आदर्शकी जमुना गुरुङ तथा ५२ केजीमुनि नवयुगकी रोजिना थापाले सितुकी पूजा लामालाई पाखा लगाउँदै पहिलो भए ।

विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्टस् फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, १२औँ सागकी स्वर्ण विजेता जुडो खेलाडी फुपू ल्हामु खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

सो अवसरमा अध्यक्ष वज्राचार्यले त्रियोगमा कार्यकारी निर्देशक अजित लामालाई १० जोर गी सहयोग स्वरूप हस्तान्तरण गरेका थिए । २ दिने प्रतियोगितामा १५ विद्यालयका ७५ खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट