एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट : कलर्स एक्स फ्याक्टर्स र जगदम्बा

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १२ असोज । जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा कलर्स एक्स फ्याक्टर्सले पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा सगरमाथा लेजेन्डलाई ९ रनले पराजित गर्दै कलर्सले पहिलो जित हात पा¥यो ।

यसअघि सोमबार भएको पहिलो खेलमा कलर्स पञ्चकन्या तेजसँग पराजित भएको थियो । सगरमाथाको भने यो लगातार तेस्रो हार हो । सगरमाथा पहिलो खेलमा कान्तिपुर गोर्खाज र दोस्रो खेल विशाल वारीवर्ससँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय(टियु) क्रिकेट मैदानमा कलर्सले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पच्छाएको सगरमाथा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र जोडेपछि लगातार हार बेहो¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कलर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार गरेको थियो ।

कलर्सका लागि राजेश पुलामीले सर्वाधिक ५६ रन जोडे । पुलामीको इनिङमा ४ चौका र २ छक्का समावेश थियो । कप्तान ज्ञानेन्द्र मल्लले ३७ बलमा ४ चौका र २ छक्काको मद्दतले ५२ रन जोडे । फज्लर रहेमानले २१ रन र हरि शंकर शाहले १३ रन जोडे । सगरमाथाको बलिङमा महेबुब आलम र बिक्रम शोबले समान २–२ विकेट लिए । रूपेश श्रीवास्ताव र राहुल विश्वकर्माले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको सगरमाथाका लागि कप्तान बिनोद भण्डारीले २८ बलमा ४८ रन बनाउँदा ज्ञानेन्द्र मल्लद्वारा रन आउट भए । उनले आफ्नो पारीमा ३ चौका र ४ छक्का प्रहार गरे । सुनील धमलाले ३६ बलमा ५ चौकाको मद्दतले ४६ रन बनाए । महेबुब अलामले २८ रन र अनिल मण्डलले १४ रन जोडे । कलर्सका लागि अविनास कर्णले २ तथा अमर रौटेला र योगेन्द्र सिंह कार्कीले १–१ विकेट लिए । सगरमाथाका लागि राम्रो ब्याटिङ गरेका भण्डारी र मण्डल रन आउट भएपछि उसको पतन सुरु भएको थियो ।

मंगलबार नै कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा कान्तिपुर गुर्खाजलाई जगदम्बा राइनोजले ११ रनले पराजित ग¥यो । टस हारेपछि पहिले ब्याटिङ पाएको जगदम्बाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । १ सय २५ रनको लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित २० ओभर नै खेलेर ८ विकेट गुमाउँदा १ सय १३ रन मात्र बनाउन सक्यो ।

राउन रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा ६ व्यावसायिक घरानाको टिम रहनेछन् । जोहरा स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा भएको टी–२० प्रतियोगिता आगामी असोज १७ गतेसम्म चल्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट