पुष्पखेतीको सम्भावना प्रचुर

प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

काठमाडौं, ११ असोज । मुलुकका ३६ जिल्लामा २ हजार ९ सय ४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्पखेतीबाट ६७ करोड १४ लाख ४६ हजार रुपैयाँ आम्दानी भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष ४५ करोड रुपैयाँले योगदान पुगेको छ ।

पुष्प व्यवसायीको छाता संगठन ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ (फ्यान) स्थापना भएको करिब २५ वर्षपछि सरकारले सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२ मा सो कुरा उल्लेख छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्यांक विभागद्वारा सार्वजनिक गरिएको उक्त सर्वेक्षणअनुसार सबैभन्दा धेरै तामाङको २८ प्रतिशत सहभागिता छ ।

विभागका उपमहानिर्देशक रुद्र सुवाल र बद्री कार्कीले संयुक्त रूपमा सार्वजनिक गरेको उक्त सर्वेक्षणमा हिमाल र पहाडमा ८ आना तथा तराईमा १० धुर जमिनलाई आधार मानी तथ्यांक सार्वजनिक गरिएको छ । सर्वेक्षणमा ५ सय ६१ व्यवसायीले पुष्पखेती व्यवसाय सञ्चालन गरेका र सबैभन्दा धेरै प्रदेश नं ३ मा ३ सय ८१ व्यवसायी आवद्ध रहेको उल्लेख छ ।

नेपालमा पुष्पखेती व्यावसायिक ढंगले सुरुआत भएको करिब २३ वर्ष पुगिसक्दा पनि पुष्प व्यवसायमा नेपाल आत्मनिर्भर हुनसकेको छैन । संस्कार र संस्कृतिलाई जोड्ने हेतुका रूपमा प्रयोग गरिने पुष्प व्यवसाय भारत, थाइल्यान्ड, फ्रान्स, बेलायत, जापान, नामेबिया, इटालीलगायत मुलुकबाट आयात भइरहेको बताइन्छ । गतवर्ष गुलाफको फूल मात्र ४० लाख रुपैयाँको आयात भएको थियो ।

सबैभन्दा धेरै काठमाडौंमा २ सय ८३ फार्म, ललितपुरमा ४०, मोरङमा २३, कास्कीमा २२ र भक्तपुरमा २० वटा फार्ममा पुष्पखेती व्यवसाय भइरहेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले २ सय ७९ पुष्पखेती व्यवसायीले प्रमुख उत्पादन मौसमी, बहुवर्षे, आलंकारिक, बिरुवा भएको देखाए पनि ४७ व्यवसायीले कटफ्लावर, २ सय २० ले लुज फ्लावर, १४ ले गार्डेन दुबो र १ व्यवसायीले बिउ उत्पादन गरिरहेका छन् ।

पुष्प व्यवसायी विश्वमणि पोखरेल बजारमा फूलको माग बढेको भए पनि आवश्यकताअनुसारको उत्पादन दिन नसकिएको बताउँछन् । गुलाफ, कारनेसन, जर्वेरा, ग्लाडियोलस, सयपत्री, गोदावरीलगायत नेपाली कट फ्लावरको माग नेदरल्यान्ड, हल्यान्ड, थाइल्यान्ड, अमेरिकालगायत देशमा भइरहेको बताइन्छ ।

सरकारले कृषि क्षेत्रमा अनुदान बढाएको छ । बजार छ तर उत्पादन छैन । करिब ५ अर्ब रुपैयाँको लगानी रहेको पुष्प व्यवसायमा हाल ७२ हजार ३ सय ८५ व्यक्तिले रोजगार पाइरहेका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले उत्पादनको भरपुर सम्भावना भए पनि बढ्दो मागलाई ध्यान दिन नसकिएको बताए ।

सर्वेक्षणले मौसमी पुष्पअन्तर्गत सयपत्री, पिटुनिया, डालिया, जिनिया, प्यान्जी, बहुवर्षे पुष्पतर्फ गुलाफ, बगानबेली, गोदावरी, एजेलिया, कार्नेसन, आलांकारिक पुष्पतर्फ धूपी, हेज, पाम, अशोका, एरिका कटफ्लावरतर्फ कर्नेसन, जर्वेरा, गुलाफ, ग्याडुलस, क्यालेनडुला र लुज फ्लावरतर्फ सयपत्री, लाहुरे, गोदावरी, एकान्ते र ताराको व्यावसायिक खेती गरिएको सर्वेक्षणमा उल्लेख छ ।

पुष्प व्यवसायमा काठ र बाँसबाट ९ सय ९६ टनेल, १ सय ८२ ग्रिन हाउस, जिआइ पाइप फ्रेमबाट ४३ ग्रिन हाउस, एसएस पाइप फ्रेमबाट ३१ ग्रिन हाउस, २६ वटा टनेलमार्फत थप पुष्पखेती गरिएको सर्वेक्षणले देखाएको छ । फूल निर्यातमा प्रचुर सम्भावना छ तर कामभन्दा कुरा धेरै गर्ने नीति निर्माताको अदूरदृष्टिका कारण आयात प्रतिस्थापन गर्न सकिएको छैन भन्छन् पुष्प व्यवसायी विश्वमणि पोखरेल ।

विभागका महानिर्देशक सुमनराज अर्यालले पुष्पखेती व्यवसाय सञ्चालकमध्ये २९ प्रतिशत प्रमुख सञ्चालक रहनु सकारात्मक रहेको बताए । सामान्यस्तरमा सुरु भएको पुष्पखेती व्यवसाय आव ०७०÷७१ मा सिजनल पूmल विरुवातर्फ २१ करोड ६८ लाख, आलंकारिक बोट बिरुवातर्फ ३८ करोड १५ लाख, कट फ्लावर्सतर्फ २० करोड ४५ लाख, ल्यान्डस्केप तथा गार्डेनिङतर्फ १७ करोड ४ लाख, खुला फूलतर्फ ६ करोड ७० लाख, सामग्री आपूर्तितर्फ १२ करोड ४० लाख, अन्यतर्फ ८ करोड ३३ लाख र निर्याततर्फ ३ करोड रुपैयाँको कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

भाडामा लिएर पुष्पखेती गर्ने ६१ प्रतिशत, आफ्नो जग्गा आफँै चलन गरी खेती गर्ने ३८ र अन्य उपभोगअन्तर्गत पुष्पखेती गर्ने १ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी २६ प्रतिशतले ऋण लिएकोमध्ये ३६ ले सहकारी, २७ ले कृषि विकास बैंक, २६ ले अन्य वित्तीय संस्था र ११ प्रतिशतले अन्य स्रोतबाट ऋण लिएर व्यवसाय गरेको उल्लेख छ ।

प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायका लागि सरकारले ‘पुष्प प्रवद्र्धन नीति २०६९’ जारी गरी पुष्प प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्ययोजना लागू गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट