नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन हुँदै

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यियक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ ।

शुक्रबार राजधानीमा आयोजित समारोहकाबीच संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार आगामी फ्रेबु्रअरीको दोस्रो साता काठमाडौंमा द्विदेशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलनको आयोजना गरिनेछ ।

उक्त सम्मेलनमा कोरियाबाट सांसद्, प्राज्ञ, कवि, लेखक, चित्रकार, संस्कृतिविद्, व्यवसायी गरी करिब २ सय जना सहभागी हुनेछन् । ३ दिनसम्म चल्ने सम्मेलनमा नेपाली तथा कोरियाली साहित्य, संस्कृति, दर्शन, इतिहास, कला तथा पर्यटनबारे दश कार्यपत्र प्रस्तुत हुनेछन् भने नेपाल र कोरियाका चुनिएका विशिष्ट कविहरूले कविता प्रस्तुत गर्नेछन् । संघका अध्यक्ष मुकारुङका अनुसार सम्मेलनमा दुवै देशका सय चित्रकारका कलाकृति प्रदर्शन गरिनुका साथै लोकसंस्कृतिको समेत प्रस्तुति रहनेछ ।

सो अवसरमा नेपाल र कोरियाका चुनिएका ६० कविका १ सय २० कविता, ७–७ कथा तथा ५–५ उपन्यासहरूको अनुवाद पनि प्रकाशन गरिनेछ । संकलनमा नेपालतर्फका विशिष्ट साहित्यकार विपी कोइराला, पारिजातदेखि अहिलेको पुस्ताका प्रतिनिधि स्रष्टासम्मलाई समेटिनेछ ।

सम्झौताअनुसार आगामी जुलाईमा सो सम्मेलनको दोस्रो संस्करण कोरियामा आयोजना गरिनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट