नरेन्द्र र कर्माको उम्मेदवारी

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । आसन्न कात्तिक ८ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदको लागि २ उम्मेदवार नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पाको उम्मेदवारी परेको छ ।

उम्मेदारी घोषणा गर्ने अन्तिम दिन आइतबार उपाध्यक्ष कर्माछिरिङ शेर्पाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेपछि अध्यक्ष पदका लागि २ बीच प्रतिस्पर्धा हुने भएको हो । यस्तै कर्मा प्यानलबाट उपाध्यक्ष पदको लागि एन्फाका सदस्य दीपक खातीले उम्मेदवारी दिएपछि उपाध्यक्षको लागि ३ जनाबीच भिडन्त हुने पक्का भएको छ ।

उपाध्यक्ष पदका लागि यसअघि नरेन्द्र श्रेष्ठ प्यानलबाट मणि कुवँर र रेफ्री, प्रशिक्षक र खेलाडीबाट पूर्वराष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले उम्मेदवारी दिएका छन् । उम्मेदवारी घोषणा गर्दै शेर्पाले आफू नेपाली फुटबल विकासको लागि लडेको र एन्फामा पारदर्शिता कायम गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताए ।

त्यस्तै उनले नेपाली फुटबललाई परिवर्तनतर्फ लैजान लामो समयदेखि फुटबलमा लागेकाले उम्मेदवारी दिएको बताउँदै चुनावमा व्यक्ति हार्ने भन्दा पनि एजेन्डा हार्ने नहुने बताए । शेर्पाको उम्मेदवारी घोषणा कार्यक्रममा एन्फाका असन्तुष्ट भनिएका पदाधिकारी, जिल्ला फुटबलका प्रतिनिधि र क्लब प्रतिनिधिको उपस्थिति थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट