भारत जित नजिक

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

एजेन्सी
कानपुर, १० असोज । भ्रमणकारी न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत जित नजिक पुगेको छ । ४ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले चौथो दिनको खेल सकिँदा ४ विकेट गुमाएर ९३ रन बनाएर खराब प्रदर्शन गरेको छ । जितका लागि न्युजिल्यान्डलाई अझै ३ सय ४१ रन आवश्यक छ भने उसका ६ विकेट मात्र बाँकी छ ।

न्युजिल्यान्डलाई दबाबमा राख्न भारतका मुख्य स्पिन बलर रविचन्द्रन अश्विनले ३ विकेट लिए । अश्विनले टम लाथम, मार्टिन गुप्टिल र केन विलियम्सनको विकेट लिए । न्युजिल्यान्डका अनुभवी ब्याट्सम्यान रस टेलर्स रन आउट भएका थिए ।

यसअघि चेतेश्वर पुजारा, मुरली विजय, रोहित शर्मा र रविन्द्र जडेजाको अर्ध शतकीय पारीमा भारतले ४ सय ३३ रनको स्कोर खडा गरेको थियो । पुजाराले ७८ रन बनाए भने विजयले ७६, रोहितले ६८ र जडेजाले ५० रन बनाए ।

भारतका अजिक्या राहनेले ४० रन बनाउँदा कप्तान विराट कोहलीले १८ रन मात्र बनाउन सके । पहिलो इनिङमा ५८ रनको अग्रता लिएको भारतले दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३ सय ७७ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट