रियल फेरि बराबरीमा रोकियो

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

मड्रिड, १० असोज । स्पेनिस ला–लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पनि बराबरीमा रोकिएको छ । ला–लिगा अन्तर्गत शनिबार राती भएको खेलमा मड्रिड लास पालमससँग २–२ को बराबरीमा रोकिएको हो । बराबरीसँगै रियल मड्रिडले अंक दुरी बढाउने मौका गुमायो । रियलका लागि करिम बेन्जेमा र मार्को एसेनसिओले १–१ गोल गरे ।

लास पालमसका लागि डोमिनगुएज र आउजोले १–१ गोल गरे । ३३औँ मिनेटमा एसेनसिओले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाए । त्यसको ५ मिनेटपछि डोमिनगुएजले लास पालमसका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । तर, सब्सिच्युटको रूपमा मैदान छिरेका बेन्जेमाले ६७औँ मिनेटमा गोल गर्दै रियललाई फेरि अग्रता दिलाए । तर, खेल सकिन पाँच मिनेट हुँदा लास पालसमका आउजोले फेरि खेललाई बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

लासपलामासविरुद्धको खेल जितेको भए मड्रिडले बार्सिलोनासँग ३ अंकको दुरी कायम गर्ने थियो । तर, बराबरीले रियल बार्सिलोनाभन्दा मात्रै १ अंकले अघि छ । यता साविकको विजेता बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियलसँगको अंक दुरी कम गरेको छ ।

शनिबार राती भएको खेलमा स्पोर्टिङ डि गिजोनलाई ५–० ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानको रियलसँगको दुरी १ मा झारेको हो । बार्सिलोनाको जितमा नेयामरले २ तथा लुइस स्वारेज, आद्रा तुरान र राफिन्हाले समान १–१ गोल गरे । यस्तै राती नै भएको खेलमा सेभिल्लालाई

३–१ ले हराएको एथ्लेटिको बिल्बाओ १२ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा एइबरले रियल सोसिडाडलाई २–० ले हरायो । जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ६ खेलबाट १३ अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिडको १४ अंक छ । गिजोन ७ अंक जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।

यता इंग्लिस प्रिमियर लिग फुटबलमा चेलसी आर्सनलसँग ३–० ले पराजित भएको छ । आर्सनलको जितमा एलेक्स सान्चेज, थियो वाल्कोट र मेसुट ओजिलले गोल गरे ।   एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट