पञ्चकन्या र कान्तिपुरको विजयी सुरुआत

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेटमा पन्चकन्या तेज तथा कान्तिपुर गोर्खाजले विजयी सुरुआत गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा पञ्चकन्या तेज जगदम्भा राइनोजलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

पहिलो दिनको खेल भने वर्षाका कारण स्थगित भएको थियो । शक्ति गौचनको कप्तानीमा रहेको जगदम्बाले दिएको १ सय ३० रनको लक्ष्य पञ्चकन्या तेजले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजको लागि पृथु बास्कोटाले ४८ तथा कप्तान भेषवाकरले २७ रनको पारी खेले । पृथुले यसै खेलबाट चोटबाट मुक्त हुँदै क्रिकेटमा पुनरागमन गरेका हुन् । पञ्चकन्याका आरिफ शेख ३३ रन तथा दिपेन्द्र सिंह ऐरी १७ रनमा अविजित रहे । जगदम्बाको लागि सोमपाल कामीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन जोडेको थियो । जगदम्बाको लागि कप्तान शक्ति गौचनले नटआउट २९ तथा सोमपाल कामीले पनि नटआउट ४३ रनको पारी खेले । त्यसतै महेश क्षेत्रीले ३०, सुभेन्दु पाण्डेले १४ र अमित श्रेष्ठले १० रन जोडे । पञ्चाकन्याका लागि सुशील कडेलले ३ तथा आरिफ शेखले १ विकेट लिए ।

यस्तै, दोस्रो खेलमा कान्तिपुर गोर्खाजले सगरमाथा लिजेन्ड्सलाई ७ विकेटले पराजित गरेको छ । जोहरा स्पोट्स म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगिता असोज १७ गतेसम्म हुनेछ । राउन रोविन लिगका आधारमा खेलाइने प्रतियोगितामा हरेका टोलीले ५ खेल खेल्नेछ । प्रत्येक टोलीको कप्तानी नेपाली राष्ट्रिय टोलीका खेलाडीहरूले गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट