गायक बिनोद राईको ‘पारा’ बजारमा

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । गायक बिनोद राईको पहिलो एकल एल्बम ‘पारा’ शनिबार राजधानीमा सार्वजनिक भएको छ । नेपाली तारा–३ को उत्कृष्ट ७ बाट बाहिरिएका गायक राईको लाइन क्रस मुभिजले प्रस्तुत गरेको एल्बमलाई चिन्डो म्युजिकले सार्वजनिक गरेको हो ।

संगीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गायक तथा संगीतकार उदय सोताङ, सञ्चारकर्मी तथा साहित्यकार नवराज लम्साल, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, साहित्यकार उषा शेरचन, गायकका बुवा हरिप्रसाद राईलगायतले एल्बमको संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रमका प्रमुखअतिथि गणेश रसिकले गीत कविताको नजिक हुनुपर्ने आफ्नो मान्यता रहेको बताए । उनले नेपाली संगीतक्षेत्रमा पैसाको भरमा संगीतकर्मी बढिरहेको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै विनोद राईमा अहिलेसम्म त्यस्तो स्वभाव नदेखिएकोमा खुसी प्रकट गरे ।
सञ्चारकर्मी नवराज लम्सालले एउटा गायकमा गीत छान्न सक्ने क्षमता हुनुपर्ने बताउँदै राईले एल्बममा राखेका गीत सही छनोटको भएको बताए । उनले नेपाली संगीतमा चिन्तनको टड्कारो आवश्यकता रहेको औंल्याए ।

विमोचन समारोहमा बिनोदले एल्बममा समावेश पारा, आँखाभरी र सेवारो गीत प्रत्यक्ष सुनाएका थिए । साथै, उनले आफू नेपाली संगीतमा अनवरत रूपमा अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । एल्बममा पारा, आँखाभरी, सिरानीमा, सेवारो, आलै छ र गुराँसझैं लगायत ६ गीत समावेश छन् ।

प्रकाश आङदेम्बे, पुरुषोत्तम ढुंगेल, वासु थापा पुलामी, युगल लुम्फुवाँ र रोशन सुवेदीको शब्दलाई पारस मुकारुङ, मनोजराज सिवाकोटी, अनिल फागो, देव गुरुङ, कमल रसाइँली र बाबु बोगटीले संगीत दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट