ठाउँको अभावमा सुपथ मूल्य पसल सञ्चालन भएन

प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १० असोज । नेपाल खाद्य संस्थानले ठाउँ पाउन नसक्दा सिंहदरबारसहित ४ ठाउँबाट दसैं , तिहार र छठ पर्वका लागि लक्षित गरिएको सुपथ मूल्यको पसल सञ्चालन हुन सकेको छैन ।

संस्थानले सिहदरबारमा निजामती कर्मचारीलाई लक्षित गरी खोल्ने भनिएको सुपथ मूल्यको पसलका लागि ठाउँ पाउन नसकेको संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले जानकारी गराए । उनका अनुसार सिंहदरबारसँगै संस्थानले बौद्ध, नारायणथान र टेकुमा पनि ठाउँ पाउन सकेको छैन ।

संस्थानले १ असोजबाट उपत्यकाका ११ स्थानमा पसल सञ्चालन गर्ने भने पनि ७ स्थानबाट मात्र सञ्चालन भएको छ । ‘सिंहदरबारमा रहेका कर्मचारीलाई पनि संस्थानबाट बिक्री वितरण हुने गुणस्तरीय खाद्यन्न उपलब्ध गराउने हाम्रो योजना पूरा गर्न अझै ठाउँ खोजिरहेका छौँ’ सूचना अधिकारी र कार्कीले भने । उनले ठाउँ उपलब्ध गराउनका लागि संस्थानले आपूर्ति मन्त्रालयमार्फत पटक-पटक सहरी विकास मन्त्रालयलाई आग्रह गरे पनि अझै ठाउँ उपलब्ध हुन नसकेको बताए ।

संस्थानले सिंहदरबार, बौद्ध र नारायणथान (प्रति स्थानबाट) एक हजार क्वीन्टल चामल, २० क्वीन्टल गहुँ, १५ क्वीन्टल र १५ क्वीन्टल फापर र टेकुबाट ५०० क्वीन्टल चामल, २० क्वीन्टल, गहुँ, १५ क्वीन्टल सिमी र १५ क्वीन्टल फापर बेच्ने तयारी गरेको छ । ती स्थानबाट संस्थानले प्रतिकेजी ५ रुपियाँ छुट दिने खाद्यन्न दिइने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट