याम र दिलमायालाई दोहोरो स्वर्ण

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिनेस
काठमाडौं, ७ असोज । जाजरकोटका यामसाजन सुनार र सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी दिलमाया कार्कीले चौथो गोल्डेन स्प्रिन्ट मिटमा बिहीबार दोहोरो स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगतामा यामले पुरुष १ सय र २ सय मिटर दौडमा स्वर्ण जिते । १ सय मिटर दुरी यामले १० दशमलव ५ सेकेन्डमा पूरा गरे ।

1-1

भारतका सिद्धान्त बोरारा दोस्रो तथा ललितपुरका आशिष खत्री तेस्रो भए । २ सय मिटर दुरी पार गर्न यामले २१ दशमलव ६ सेकेन्ड समय खर्चे । बाराका नीलप्रताप महतो दोस्रो तथा ललितपुरका आशिष खत्री तेस्रो स्थानमा रहे । दिलमायाले २ सय र ४ सय मिटर दौडमा शीर्ष स्थान कब्जा गरिन् । दिलमायाले २ सय मिटर दुरी २६ दशमलव ३ सेकेन्डमा तय गरिन् । एपिएफका सरस्वती चौधरी दोस्रो तथा भगीरथी चौधरी तेस्रो बने । ४ सय मिटर दुरी दिलमायाले ६० सेकेन्डमा तय गरिन् । एपिएफकी भगीरथी चौधरी दोस्रो तथा भारतकी संगीता भउर्सिया तेस्रो भए ।

महिला १ सय मिटर दौडमा एपिएफकी सरस्वती चौधरीले स्वर्ण जितिन् । सरस्वतीले निर्धारित दुरी तय गर्न १२ दशमलव ७ सेकेन्ड समय निकालिन् । बर्दियाकी प्रमिला थारू दोस्रो तथा भारतकी भविष्य कोठारी तेस्रो भए । पुरुष १ सय १० मिटर हर्डल्स (बाधा दौड) मा जिवराज शाही पहिलो भए । उनले १७ दशमलव ५ सेकेन्ड समय खर्चे । एपिएफका सत्तबहादुर बुढा दोस्रो तथा नारायण महतो तेस्रो भए । महिला १ सय मिटर हर्डल्समा भारतकी भविष्य कोठारी पहिलो भइन् ।

2-1

भविष्यको टाइमिङ १६ दशमलव ६ सेकेन्ड रह्यो । एपिएफकी सविता चौधरी दोस्रो तथा बर्दियाकी प्रमिला थारू तेस्रो स्थानमा रहे । नेपाल एथलेटिक्स संघ र काठमाडौं रोड रनर्स क्लब अल्मुनाइद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा नेपाल आर्मी क्लबका सोमबहादुर कुमाल पहिलो भए । उनले निर्धारित दुरी ४८ दशमलव २ सेकेन्डमा सकाए । एपपिएफका आशिष चौधरी दोस्रो र नीरप्रताप महतो तेस्रो भए ।

विद्यालयतर्फ छात्र १ सय मिटर दौडमा सिन्धुलीका खिलबहादुर कार्की पहिलो भए । उनले १२ सेकेन्ड समय लगाए । सो स्पर्धाको छात्रामा १३ दशमलव ५ सेकेन्ड समय खर्चंदै आइडियल मोडेल स्कुलकी लुजला अमात्य शीर्ष स्थानमा रहिन् । विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

एकदिने प्रतियोगितामा विद्यालयतर्फ बाहेक सबै स्पर्धामा शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट