भैरव अर्याल स्मृति पुरस्कार मनोज गजुरेललाई

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । चर्चित नेपाली हास्यव्यंग्य साहित्यकार भैरव अर्यालको ७९औँ जन्मजयन्तीको अवसरमा कलाकार मनोज गजुरेललाई ०७२ सालको भैरव अर्याल स्मृति पुरस्कार प्रदान गरिएको छ । वर्षेनी मनाइने भैरव स्मृति दिवसको अवसरमा स्वर्गीय अर्यालको शालिकसमेत रहेको हेटौँडाको पुष्पलाल पार्कमा आयोजित कार्यक्रममा गजुरेललाई सम्मानसहित पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समालोचक, निबन्धकार, भाषाशास्त्री डा.माधव पोखरेलले गजुरेललाई नगद २१ हजार १ सय ११ रूपैयाँ नगदसहित प्रमाण–पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै भैरव अर्यालका सुपुत्र प्रकाश अर्यालले आफ्ना पिताजीको स्मरण गर्दै उनको नामले मात्र पनि आफ्नो परिवारको प्रतिष्ठा उच्च हुन पुगेको बताए । पुरस्कृत भएपछि गजुरेलले भैरव अर्यालजस्ता महान् श्रष्टाको नामसँग जोेडिएको पुरस्कार पाउनु आफ्ना लागि नोबेल पुरस्कार पाउनु बराबर भएको भनाइ राखेका थिए ।

समारोहका प्रमुख अतिथि डा.माधव पोखरेलले भैरव अर्यालको बहुआयामिक प्रतिभाका बारेमा र कलाकार मनोज गजुरेलको योगदानका बारे चर्चा गर्दै नेपाली हास्यव्यंग्य साहित्यमा नयाँ–नयाँ र भरपर्दा प्रतिभाहरू निस्कँदै गएकोमा खुशी व्यक्त गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट