कविताका चित्रसँगै ‘आफर’ विमोचन

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । राजधानीको शिल्पी थियटरमा फरक पाटोको कार्यक्रम भएको छ । कविहरुले कविता वाचन गरिरहँदा चित्रकारहरु कवितामाथि चित्र कोर्ने व्यस्त देखिएका थिए ।

सधैँ देखिनेभन्दा पृथक रहेको कार्यक्रममा प्रकाश गुरागाइँको ‘हजुरको बुट’ शीर्षकको यो कवितामा मनिष हरिजनले चित्र बनाउँदै थिए । सुन्दर अनि महँगो कुर्सीको चित्र भएको क्यानभासमा जुत्तामा लगाउने पोलिसको बट्टा र ब्रस टाँसिएको थियो । उत्पीडनको बाँध फुटेर निस्किएको आक्रोशको ज्वारभाटाले सर्लक्कै समुद्रकिनारको बालुवा बगाएजस्तै कुर्सीको माथिल्लो भागमा त्यसको सुन्दरता कुरूप बनाउँदै लपक्कै कालो पोतिएको थियो ।

शिल्पी थियटरको आँगनदेखि मञ्चसम्म स्रष्टा सर्जकहरुको उपस्थिति बाक्लो देखिन्थ्यो । कोही कविता सुन्न मस्त त कोही चित्रकला हेर्न व्यस्त । कविहरू भित्र कविता सुनाउँदै थिए, चित्रकारहरू बाहिर तिनै कवितामाथि रङ पोत्दै थिए । उन्मुक्त पुस्तकको जमर्कोमा कवितासंग्रह ‘आफर’ विमोचन हुँदै थियो ।

८ जना कविका दलित सौन्दर्यशास्त्रमा आधारित ३२ वटा कविता समावेश आफरको विमोचन समारोह कुनै कम्युनिष्ट आन्दोलनको कार्यक्रमजस्तै थियो । कवितामा उत्पीडनका कुरा उठाइएको छ । यो विषय समाज र राजनीतिभन्दा अलग अवश्य पनि छैन ।

कार्यक्रममा शक्तिशाली कवितावाचन मात्र नभई परिवर्तनका लागि आवश्यक विषयमाथि पनि छलफल भयो । लेखक आहूतिले ८ कविको लेखनशैलीको मूल्यांकन गर्दै भने, ‘अबको लेखन सहानुभूतिको स्तरबाट माथि उठ्न जरुरी छ, अहिलेसम्म भएका बहसलाई उल्ट्याउन जरुरी छ ।’ समता बुक्सले बजारमा ल्याएको कवितासंग्रह जातीय विभेदविरुद्धको आन्दोलनको अंश हो । जसले दलितका पीडामात्र नभई आक्रोश पनि बोलेको छ ।

कलाकार लालकाजी लामाले कवि मोक्तान थेवेको कविता ’अन्तर्राष्ट्रिय जात’ माथि चित्र बनाए । सधैँ चलिआएको कुरा हो, कुनै नौलो कुरा यसमा थिएन, दलितले भगवानको मूर्ति कुँदिरहेका । सुन्दर गणेशको मूर्तिमा दलितको रगत, पसिना मिसिएको छ । भगवानकै निर्माता त्यही भगवानको मन्दिरमा जानबाट वञ्चित छ ।

पीडालाई आँशुबाट बगाइरहेको दृश्य चित्रमा देखिएको छ । कलाकार आरएन मौनिकले कवि केवल विनावीको, देवेन्द्र थुम्केलीले केशव सिलवालको, केशव खनालले केशरी अमगाईंको, नारदमणि हार्तम्छालीले माधव घिमिरे अटलको, भानु भट्टराईले राजु स्याङ्तानको र अजित शाहले हरिशरण परियारको कवितामाथि चित्र बनाए ।

हजुरले कुल्चेर आएका मजदुरका रगत
हजुरले कुल्चेर आएका सुत्केरीका स्तन
हजुरले कुल्चेर आएको आफ्नै वीर्य
कालो पोतेर छोपछाप पारेपछि
म मेरो भोक मेट्छु
तर, बुझ्दिनँ
हजुर किन मन पराउनुहुन्न कालो रङ ?

माफ गर्नुहोला हजुर
धेरै वर्षपछि आज मलाई
यो कालो पालिस
हजुरकै अनुहारमा पोत्न मन लागेको छ !


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट