अनुदान रकम बोकी साहुनीको भट्टी पसल

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काभ्रे, ५ असोज । गतवर्ष वैशाखको भूकम्पपीडितका लागि सरकारले ढिलै भए पनि अनुदान रकमले घर बनाउने अभियान ल्याएको छ । तर, यससँगै सो रकमको दुरूपयोग पनि हुन सुरु भएको छ । दिउँसो बैंकको लाइनमा बसेका पीडितहरू साँझ भट्टीमा भेटिन्छन् ।

पहिलो किस्ता लिएको  एक भूकम्पपीडितले आफूसँग भएको नगद ५० हजार लङगुरबुर्जामैँ सकेर उल्टो २० हजार ऋण लिएर घर फर्केका छन् । डाँडापारीको डाँडागाउँ गाविस घर बताउने उनले नाम नबताउने सर्तमा भने, ‘के गर्नु हजुर पैसा चाडवाडको मुखमा आयो डबल आउँछ कि भनेर राखियो सावासमेत गुम्न पुग्यो ।’

सोही ठाउँका अर्का १ जना भूकम्पपीडितले भने ‘सरकारले दिएको ५० हजारमा १५ हजारको पनौती बजारमा मोबाइल किने र घरमा भएका बच्चाहरूलाई एकै जोर लुगा हाल्दिएँ बाँकी रकमको आफैँलाई पनि खर्च गर्नुपर्नेछ ।

सीमित साधनले उनीहरू चाड मान्दै गरेको सहर्षै स्वीकार गर्छन  । उनीहरूले पाएको रकम दुरूपयोग भएको विषयमा  विभिन्न बाहना बनाउँदै आफ्नो घर फर्कंदै गरेको समेत खुलेको छ । एक पीडितले रकम जुवामा सबै हारेपछि काम नै नबनेको बाहना गर्दै घर फर्केका छन् ।

यसैबीच, जिल्लामा रहेको पुनर्निर्माण प्राधिकरण बोर्डमा मात्रै सीमित बनेको छ । आएका सबै पीडितहरू जिविसमा बुझ्न आउने गर्छन् प्राधिकरणमा कुनै तथ्यांक समेत छैन । नाम मात्रैको पुनर्निर्माण प्राधिकरण बनेको भूकम्पपीडितहरूको गुनासो आउन थालेको छ । प्राधिकरणको बेवारिसे अवस्थाबारे जिविसका केही कर्मचारीहरू पनि चकित छन् । ‘नाम मात्रैको बोर्ड किन राख्नू ?’ उनीहरू भन्छन्, ‘काम शून्य छ ।’ केही तथ्यांक र कागजातसमेत नभएको प्राधिकरण जिल्लामा भए नभएको कुने मतलबै छैन एक पीडितले भने ।

भूकम्पमा सबै घर भत्किएपछि राहतका लागि अनुदान सम्झौता र रकम बुझ्न काभ्रे विकट मानिँदे डाँडापारी, कोसीपारी र तिमालका बासीहरू अनुदान रकम लिन बैंकको लाइनमा  साँझ अबेरसम्म पनि भेटिन्छन् । यसरी भूकम्पपीडितहरू सदरमुकाम र आसपासका बजार क्षेत्रमा भेटिँदै गर्दा सदरमुकाम मै पनि गुनासो लगायत विषयमा बुझ्न पनि आउनेहरू छन् ।

यस्तै काभ्रेका सन्तबहादुर तामाङ गत आइतबारसम्म आफ्नो नाम छुटेको बारे जिल्लामा बुझ्न आएका थिए । यस्तै सोही ठाउँका इन्द्रध्वज थिङ पनि घरबाट आएको १३ दिन बितिसकेको बताउँछन् । उनको समस्या कम्युटरमा आफ्नो नाम नै नदेखिएको र आज हुन्छ भोलि हुन्छ भन्दै कर्मचारीहरूले फर्काउने गरेको भन्दै उनले आफ्नो काम नभएसम्म यतै रहने बताएका छन् । ५० हजार लिन धेरै नै सास्ती भएको छ ।

यस्तै अनुदान रकम बुझ्न आएका नरबहादुर ठाडा र धन बहादुर पुलामीको पनि पुरानो लिस्टमा आफ्नो नाम भए पनि पछिल्लो लिस्टमा नाम नै देखिएको छैन । यसरी उनीहरू अति विकट ठाउँबाट आए पनि उनीहरूको काम बारे गाविससचिव रेवतीरवण निरौलाले काम हुने भन्दै कुराएको र आएको १३औँ दिनसम्म पनि कुनै काम हुन नसकेपछि आक्रोश पोखेका थिए ।

उनीहरूलाई कहिले त्यो मिलेन कहिले यो मिलेन भनेर फर्काइने र कहिले आज हुन्छ भन्दै राख्ने गरेको उनीहरूको गुनासो छ । यसरी आवतजावत गरिरहँदा धनबहादुरले भने बेहोस भइएछ आफुले बोकेको कागजपत्रको झोला पनि कहिले कहाँ कहाँ छोडिन्छ, उनले गुनासो पोखे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट