राष्ट्रपतिद्वारा पारा साइकल यात्रीको बिदाइ

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिनेस,
काठमाडौं, ६ असोज । साइकल यात्रामार्फत विश्वको विभिन्न ५० राष्ट्र पुगिसकेका पारा साइकल यात्री कालिकाप्रसाद भण्डारीको अर्को यात्राका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक कार्यक्रमबीच बिदाई गरिन् । महाराजगञ्जस्थित शीतल निवासमा राष्ट्रपति भण्डारीले कालिकालाई सफलताको शुभकामनासहित राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाई गरिन् ।

कालिका पुनः आफ्नो साइकल यात्रा अमेरिकाको टेक्सास्बाट सुरु गर्दैछन् । त्यसका लागि उनी दसैँको टीकाको दिन अमेरिका प्रस्थान गर्दैछन् । प्रारम्भमा उनले यात्रा सुरु गर्दा विदेशीभूमिका रूपमा पहिलोपटक भारत पुगेका थिए । त्यसपछि विभिन्न राष्ट्र हुँदै ५० राष्ट्र यात्रा गर्ने क्रममा उनले अमेरिकाको टेक्सासमा पहिलो चरणको यात्रालाई पूर्णविराम लगाएका थिए । अब उनले पुनः टेक्सासबाट यात्रा प्रारम्भ गर्नेछन् । टेक्सासबाट उनी मेक्सिकोतर्फ लाग्नेछन् । मेक्सिको हुँदै विभिन्न १७ राष्ट्रको यात्रा गरिसकेपछि अन्र्टाकर्टिका पुगेर यात्रा समाप्त गर्ने लक्ष्य उनको छ ।

५० राष्ट्रको यात्रा गर्दा १३ हजार किलोमिटर दुरी तय गरेको कालिकाले बताए । त्यसक्रममा करिब ३ करोड रूपैयाँ खर्च भइसकेको उनको दाबी छ । नेपाली साथीभाइ, एनआरएन, अपांका संघ संस्थालगायतबाट खर्चको जोहो गरेको उनले जानकारी गराए । अबको यात्रामा
करिब २२ लाख खर्च हुने उनको अनुमान छ ।

तनहुँको पर्कोट गाविस ९ निवासी ४९ वर्षीय कालिका ८ वर्षको छँदा खेल्ने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । घरेलु पारा खेलकुदमा सहभागिता जनाइसकेका कालिका नेपाल पारा ओलम्पिक कमिटीका संस्थापक कोषाध्यक्ष तथा राष्ट्रिय अपांग महासंघको पनि कोषाध्यक्ष थिए । अपांग अधिकार तथा विश्व शान्ति’ उद्देश्यसाथ यात्रा थालेका कालिकाले २०१० बाट साइकल यात्रा सुरु गरेका हुन् ।

बिदाइ कार्यक्रममा राष्ट्रपति भण्डारीले कालिकाको यात्राको विविध पक्ष बारे रुचीपूर्वक जानकारी लिएकी थिइन् । बिदाइका अवसरमा पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, महासचिव कुमार पौडेल र कोषाध्यक्ष ढुण्डिराज चालिसे उपस्थित थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट